ad ad

छापा खबर


चिसोबाट बालबालिकालाई कसरी जोगाउने?

चिसोबाट बालबालिकालाई कसरी जोगाउने?

नेपालखबर
पुस १९, २०७७ आइतबार २:१२,

जाडोको मौसममा बालबालिकालाई निमोनिया लगायतका रोग लाग्ने सम्भावना बढी हुने भएकाले यसमा सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन्।

जाडोमा निमोनियाबाहेक रुघाखोकी, ब्रोनकाइटिक्स, दमलगायत सरसफाइको कमीले हुने रोगबाट समेत बालबालिका प्रभावित हुन सक्ने हुँदा यसमा सावधानी अपनाउनुपर्ने सुझाव चिकित्सकको छ। यो खबर आजको गोरखापत्र दैनिकमा सरोज ढुंगेलले लेखेका छन्।

कान्ति बाल अस्पतालका निर्देशक डा.कृष्ण पौडेलका अनुसार जाडो मौसममा बालबालिकालाई हुने मुख्य समस्या श्वासप्रश्वाससम्बन्धी हो । त्यसमा रुघाखोकी, नाक बन्द हुने, घाँटी दुख्ने, टन्सिल लगायतका समस्या हुन्छन् । चिसो फोक्सोसम्म पुगेपछि ब्रोनकाइटिक्स, निमोनियाको समस्या देखा पर्छ । विभिन्न प्रकारका भाइरसबाट यी रोग लाग्ने गर्छ।

श्वास नलीमा सङ्क्रमण हुने, दमको समस्या पनि हुन्छ । जाडोमा बालबालिकालाई झाडापखाला पनि हुने गरेको जानकारी दिँदै डा.पौडेलले रोटा भाइरसले एक वर्षभन्दा कम उमेरका बालबालिकालाई सताउने गरेको बताए।

सरसफाइको कमी भयो भने बालबालिकालाई छालाको सङ्क्रमण हुने गर्छ। चिसोमा सरसफाइको कमी हुने र छालासम्बन्धी रोगले सताउने गर्छ। छालाको समस्यामा जुम्रा पर्ने, चायाँ पर्ने गर्छ भने कतिपय अवस्थामा सुक्खा छाला भएर पनि समस्या उत्पन्न हुन्छ । चिकित्सकले यसलाई फङ्गल सङ्क्रमण भनेका छन्।

चिकित्सकका अनुसार जाडोको समयमा घरको भ्यालढोका बन्द गरेर राति सुत्दा थप जटिलता हुन्छ । झ्यालढोका थुनेर हिटर तापेर बस्नाले कार्बन मोनोअक्साइड हुने र मानिसको मृत्युसमेत हुने गर्दछ । हिटर तापेर बस्ने हो भने पनि हावा लाग्ने ठाउँ छोड्नुपर्ने हुन्छ । बच्चालाई धेरै तातो बनाउने क्रममा भित्रभित्रै पसिना आएर बच्चा भिज्ने र निमोनियाको समस्या देखा पर्ने हुनाले सतर्कता अपनाउनुपर्ने विज्ञहरू सुझाउँछन्।

कोरोना भाइरसको जोखिम पनि छँदैछ । कुनै व्यक्तिलाई सङ्क्रमण छ भने ती व्यक्तिबाट टाढै रहनुपर्छ । बच्चालाई जलविनियोजन हुने सम्भावना हुन्छ । बच्चाको मिर्गौलासमेत फेल हुने अवस्था आउन सक्ने औँल्याइएको छ । वरिष्ठ बालरोग विशेषज्ञ डा. ज्योतिरत्न धाख्वाका अनुसार निमोनिया जाडोबाहेकको अन्य समयमा समेत हुन सक्छ तर जाडोमा बालबालिकालाई निमोनियाको उच्च जोखिम हुन्छ।

निमोनियाबाट बच्न पोषणमा ध्यान दिनुपर्नेमा जोड दिँदै डा.धाख्वाले छ महिनासम्मको बच्चालाई अनिवार्य स्तनपान गराउन सुझाव दिए। यस्तै सन्तुलित आहार खुवाउने, आमाले सरसफाइमा ध्यान दिने, भीडभाडबाट समेत टाढै रहनुपर्ने उनको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .