ad ad

छापा खबर


अख्तियार प्रमुखमा सिफारिस राईमाथि वाइडबडीमा चार अर्ब ३५ करोड भ्रष्टाचार गरेको आरोप, छानबिन गर्दै अख्तियार

 अख्तियार प्रमुखमा सिफारिस राईमाथि वाइडबडीमा चार अर्ब ३५ करोड भ्रष्टाचार गरेको आरोप, छानबिन गर्दै अख्तियार

नेपालखबर
पुस ९, २०७७ बिहिबार २३:२३,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस प्रेमकुमार राई नेपाल आयल निगम मात्र होइन, नेपाल वायुसेवा निगमको अनियमिततामा पनि मुछिएका व्यक्ति हुन्।

आपूर्तिसचिवको रूपमा राई आयल निगमका अध्यक्ष हुँदा एक अर्ब ६ करोड भ्रष्टाचार भएको थियो । त्यस्तै, उनी पर्यटनसचिवको रूपमा वायुसेवा निगमको अध्यक्ष हुँदा वाइडबडी खरिदमा जोडिएका हुन्।

वाइडबडीमा चार अर्ब ३५ करोड भ्रष्टाचार भएको भन्दै सार्वजनिक लेखा समितिले अनुसन्धान र कारबाहीका लागि सिफारिस गरेको छ।

यो विषयमा अख्तियारले अनुसन्धान गरिरहेको वेला उनै राई अख्तियारको प्रमुख आयुक्तमा सिफारिस भएका खबर आजको नयाँ पत्रिका दैनिकमा केदार दाहालले लेखेका छन्।

आयल निगमको जग्गा खरिद प्रक्रियालाई भने सरकारको ‘निर्देशन’मा अख्तियारले तामेलीमा राख्ने निर्णय गरेको छ । महालेखाको ५५औँ प्रतिवेदनले पनि जहाज खरिद प्रक्रियामा गम्भीर त्रुटि देखिएकाले छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने विषय उल्लेख गरेको थियो।

पर्यटनसचिवको रूपमा नेपाल वायुसेवा निगमको अध्यक्ष हुँदा राईले सीधै एयरबससँग होइन, बिचौलिया कम्पनीमार्फत वाइडबडी जहाज किन्ने निर्णय गराएका थिए । निगममा अध्यक्षको रूपमा जहाज किन्ने निर्णय गराएका राई निगमलाई ऋण दिने निर्णय गर्ने वेला भने सञ्चय कोष पुगेका थिए । यसरी ऋण लिने र ऋण दिने निर्णायकमा बसेर राईले अनौठो अभिलेख बनाएका छन् ।

पर्यटन मन्त्रालयका तत्कालीन सचिव राई १० माघ ०७२ देखि २६ भदौ ०७३ सम्म निगमको अध्यक्षको जिम्मेवारीमा थिए । तत्कालीन सरकारका प्रधानमन्त्री केपी ओली र पर्यटनमन्त्री आनन्द पोखरेलले उनलाई पर्यटन मन्त्रालयमा लगेका थिए।

यहीबीच २ वैशाख ०७३ मा राईको अध्यक्षतामा बसेको निगम सञ्चालक समिति बैठकले ‘विमान खरिदको प्रक्रिया अघि बढाउने र त्यसका लागि उपसमिति गठन गर्ने’ निर्णय गरेको थियो । जब कि यसअघि ४ माघ ०७२ मा नै निगमको आर्थिक विनियमावलीअनुसार तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारको नेतृत्वमा उपसमिति गठन भएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .