ad ad

छापा खबर


किन आउँदै छन् चिनियाँ रक्षामन्त्री वेई फेङहे काठमाडौं?

किन आउँदै छन् चिनियाँ रक्षामन्त्री वेई फेङहे काठमाडौं?

नेपालखबर
मंसिर ९, २०७७ मंगलबार २:३८,

भारतीय पक्षबाट नेपाल भ्रमण बढिरहेका बेला चिनियाँ राष्ट्रपति सी चिनफिङले विशेष दूत काठमाडौं पठाउँदै छन्।

चिनियाँ रक्षामन्त्री वेई फेङहे राष्ट्रपति सी चिनफिङको सन्देश लिएर आइतबार विशेष जहाजबाट काठमाडौंमा उत्रिनेछन्। परराष्ट्र मन्त्रालय र चिनियाँ राजदूतावासले रक्षामन्त्री फेङ्हेको नेपाल भ्रमणको तयारी छुट्टाछुट्टै गरिरहेका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा शम्भु कट्टेलले लेखेका छन्।

भारतीय गुप्तचर संस्था रअका प्रमुख सामान्तकुमार गोयल र भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवणेको भ्रमणलगत्तै चिनियाँ रक्षामन्त्री फेङहे नेपाल आउन लागेका हुन्। यस्तै, नेपाल–भारत सचिवस्तरीय वार्ताका लागि भारतीय विदेशसचिव पनि फेङ्हेको भ्रमणअघि नै काठमाडौं आउनेछन्।

गत वर्ष चीन भ्रमणमा गएका बेला उपप्रधानमन्त्री ईश्वर पोख्रेलले तत्कालीन रक्षामन्त्रीको हैसियतमा चिनियाँ समकक्षी फेङ्हेलाई नेपाल भ्रमणको निम्तो दिएका थिए। झट्ट हेर्दा नियमितजस्तो देखिए पनि अन्तर्राष्ट्रिय उडान सुचारु नभएको र नेपालमा कोरोना भाइरस संक्रमण बढिरहेका बेला हुन लागेको चिनियाँ रक्षामन्त्रीको भ्रमण अर्थपूर्ण र राजनीतिक केन्द्रित हुने विश्लेषक बताउँछन्।

सत्तारुढ दल नेकपा गम्भीर संकटमा परेका बेला फेङ्हेको नेपाल भ्रमण रक्षा मामिलाभन्दा पनि राजनीतिक विषयमा केन्द्रित हुने देखिएको छ। उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नेछन्। उनले नेकपाका केही शीर्ष नेतालाई सामूहिक भेट गर्ने कार्यक्रम रहेको स्रोतले बताएको छ।

प्रधानमन्त्री ओली र चिनियाँ अधिकारीबीच एकअर्कामा विश्वासको वातावरण देखिएको छैन। राजदूत यान्छीले सरकारसँगको चीनको पछिल्लो सम्बन्ध, अमेरिकी परियोजना एमसीसी र चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्दै हुने प्रदर्शनबारे बेइजिङमा रिपोर्टिङ गरेको स्रोतले बताएको छ। फेङ्हेको भ्रमण पूर्णरूपमा राजनीतिक हुने त्यसमा पनि फुटबाट नेकपालाई जोगाउने, प्रधानमन्त्री ओलीसँग चिसिएको सम्बन्ध सुमधुर बनाउन केन्द्रित हुने स्रोतले बताएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .