ad ad

छापा खबर


निर्मला हत्याका दुई वर्ष, अझै उघ्रिएन पर्दा

निर्मला हत्याका दुई वर्ष, अझै उघ्रिएन पर्दा

नेपालखबर
साउन १०, २०७७ शनिबार २:३५,

निर्मला पन्तको बलात्कारपछि हत्या भएको शनिबार दुई वर्ष पुगेको छ।

निर्मलाका हत्यारा पत्ता लगाउन सडकदेखि सदनसम्म आवाज उठ्यो। सायदै सबैभन्दा बढी छानबिन समिति गठन गरेर अनुसन्धान भए। तर दुई वर्षसम्म घटना रहस्यमै रहेको खबर आजको नागरिक दैनिकमा कञ्चनपुरबाट दिलबहादुर छत्याल र पुष्पराज जोशीले लेखेका छन्।

घटनाको दुई वर्षसम्म हत्यारा पत्ता नलागेपछि निर्मलाका आमाबुवाले न्याय पाउने आश गुमेको बताएका छन्। ‘छोरीको हत्या भएको पनि दुई वर्ष पुगिसक्यो,’ निर्मलाकी आमा दुर्गादेवीले भनिन्, ‘अझै न्याय पाउन सकिएको छैन।’ निर्मलाको न्यायका लागि देशदुनियाँ लडेको बताउँदै उनले भनिन्, ‘न्यायका लागि सबैले आवाज उठाए तर पनि प्रहरीले अपराधीलाई समात्न सकेन।’

न्यायका लागि आवाज उठाउँदा मानिसको ज्यानसमेत गएको बताउँदै निर्मलाका बुवा यज्ञराजले भने, ‘म त न्याय माग्दामाग्दै थाकिसकें।’

प्रहरीले सिआइबीसमेत गरी विभिन्न छानबिन समिति बनाएर अनुसन्धान गरे पनि हत्यारा को हो भन्न टुंगो लगाउन अझै सकेको छैन। सुदूरपश्चिम प्रहरी प्रमुख उत्तम सुवेदीले विभिन्न पाटा र कोणबाट अनुसन्धान जारी राखेको बताए।

‘हामी अनुसन्धानकै क्रममा छौं,’ उनले भने, ‘अहिलेसम्म दोषी को हो भन्ने टुंगोमा पुग्न सकेका छैनौं। सबै उपाय अपनाएर तार्किक निष्कर्षमा पु¥याउन प्रयत्नरत छौँ।’ यो धेरै गिजोलिएको केस भएकाले अनुसन्धान जटिल भएको उनको भनाइ छ।

प्रहरीले निर्मलाको सुरुवाल पखालेको, लुगा जलाएर नष्ट गरेको, घटनास्थल सिल नगरी प्रमाण नष्ट हुन दिएको, फिंगर र फुट प्रिन्ट संकलन नगरेको, तालिमप्राप्त कुकुर परिचालन नगरेको कारण दोषी पत्ता लगाउने बलियो प्रमाण बाँकी छैन। एकमात्र आधार मानिएको निर्मलाको भेजिनल स्वाब पनि त्रुटिपूर्ण रहेको भनिएपछि दोषी पत्ता लगाउने ठोस प्रमाण खोज्न जटिल छ।

सुरुमा दिलीप बिष्टलाई निर्दोष भन्दै आएकी दुर्गादेवीले पछि उनै दिलीप दोषी भन्दै गत भदौमा किटानी उजुरी दिएकी थिइन्। तर बलियो प्रमाण नभएकाले प्रहरीले मानसिक सन्तुलन गुमाएका भनिएका दिलीपलाई दोस्रोपटक पक्राउ गर्न सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .