ad ad

छापा खबर


सरकारलाई चुनौती आन्तरिक कि बाह्य? प्रधानमन्त्रीको दाबीपछि राजनीतिशास्त्रीले उठाए यस्ता प्रश्न

सरकारलाई चुनौती आन्तरिक कि बाह्य? प्रधानमन्त्रीको दाबीपछि राजनीतिशास्त्रीले उठाए यस्ता प्रश्न

नेपालखबर
असार १५, २०७७ सोमबार ०:२७,

पार्टीभित्र शक्तिसंघर्ष चर्किएको वेला प्रधानमन्त्री केपी ओलीले भारतलाई बहसमा ल्याएका छन् ।

आफ्नै निवासमा आयोजित पार्टी स्थायी कमिटीको बैठकमा समेत उपस्थित नभएका ओलीले आफूलाई हटाउन भारतीय राज्यसंयन्त्र सक्रिय भएको दाबी गरेका छन्।

मदन भण्डारीको ६९औँ जन्मजयन्तीका अवसरमा आइतबार बालुवाटारमा भएकोे कार्यक्रममा ओलीले पार्टीभित्र र भारतबाट सरकार ढाल्ने षड्यन्त्र भएको दाबी गरे।

‘हामीले हाम्रो भूभाग समावेश गरेर नक्सा प्रकाशित ग¥यौँ । हामीले यसलाई संवैधानिक रूप दियौँ । तपाईं–हामी सबैलाई थाहा छ, तपाईंहरूले पनि सुनेको हुनुपर्छ– हप्ता–पन्ध्र दिनमा प्रधानमन्त्री परिवर्तन हुँदै छ, गरिँदै छ भन्ने माहोल बनाइएको छ,’ ओलीले भने।

प्रधानमन्त्री ओलीले आफ्नो सरकार ढाल्न भारत र दूतावास सक्रिय भएको किटान नै गरेर भनेका छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डे र रमेश सापकोटाले लेखेका छन्।

भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्याय भने भारतले नेपालका प्रधानमन्त्रीलाई हटाउन षड्यन्त्र गरेको हो, दूतावास सक्रिय भएको हो भने भारतीय राजदूतलाई बोलाएर स्पष्टीकरण लिने सुझाब दिन्छन् ।

‘नेपालको सरकार ढाल्न भारतीय राज्यसंयन्त्र नै परिचालन भएको हो, अर्को देशमा बसेर भारतीय दूतावास पनि सरकार ढाल्ने खेलमा लागेको हो भने राजदूतलाई बेलाएर स्पष्टीकरण लिने हो, प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्ति बाहिर गनगन गरेर हुँदैन,’ उनले भने, ‘कहिले उत्तर, कहिले दक्षिण र कहिले अमेरिकालाई दोष दिएर आफ्ना कमजोरी लुकाउन पाइँदैन । तथ्य प्रमाणका आधारमा बोल्नुपर्छ । यस्ता हावादारी कुराले आफैँलाई कमजोर बनाउँछ । यस्ता हर्कतबाट नेपाली जनता आजित छन् ।’

यो वेला ओलीले भारतीय षड्यन्त्रको प्रसंग किन ल्याए? राजनीतिक विश्लेषक प्रा.कृष्ण पोखरेल भन्छन्, ‘यो उहाँको अन्तिम अस्त्र हो । आफ्नो चाहनाले होइन, देशका लागि प्रधानमन्त्रीको जिम्मेवारीमा हुनुपर्छ भन्ने उहाँलाई लाग्छ । उहाँमा के भ्रम छ भने म नै एक मात्र हुँ, देश चलाउने अरू कोही छैन यो मुलुकमा । उहाँलाई त्यो लागिरहेको छ । उहाँको यही मनोविज्ञान र कार्यशैलीले पार्टीभित्र आवाज उठेको देखिन्छ । तर, तीन मुद्दालाई किनारा लगाउन उहाँले भारतलाई बहसमा ल्याउन खोज्नुभएको छ,’ पोखरेलको भनाइ छ।

नेकपाको स्थायी कमिटी बैठकमा तय भएका सात एजेन्डामध्ये नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र सांगठनिक एकताका बाँकी काम, अमेरिकी मिलेनियम कर्पोरेसन सहायता (एमसिसी) सरकारसँग जोडिएका छन् । तर, स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली अल्पमतमा छन् ।

पार्टीभित्र दबाब भइरहेका वेला प्रधानमन्त्रीले भारतलाई समेत मुछेर आफ्नो नेतृत्वको सरकारमाथि षड्यन्त्र भएको टिप्पणी गरेको राजनीतिक विश्लेषण छ ।

बैठकमा एक पद एक व्यक्तिको मुद्दामार्फत प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पदबाट राजीनामा दिनुपर्ने माग उठाउने तयारी भएका वेला प्रधानमन्त्री ओलीले राष्ट्रियताको मुद्दा अगाडि सारेका छन् ।

जसपा नेता लक्ष्मणलाल कर्णले नेकपाबाहेक अरूले अहिले चाहेर पनि सरकार ढाल्न नसक्ने प्रतिक्रिया दिए । प्रधानमन्त्रीले पार्टीभित्र असन्तुष्टि राखेर काम गरे सरकार ढल्न सक्ने विश्लेषण उनको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .