ad ad

छापा खबर


आयो प्रधानमन्त्री ओलीको नयाँ गीत- ‘बन्छ नमुना नेपाल’

आयो प्रधानमन्त्री ओलीको नयाँ गीत- ‘बन्छ नमुना नेपाल’

नेपालखबर
जेठ १६, २०७७ शुक्रबार २:५०,

प्रधानमन्त्री केपी ओलीका दुईवटा कवितालाई संगीतकार शिशिर योगी गीत बनाउने तयारीमा छन्- ‘अब आँसु खसाउनु पर्दैन’ र ‘छानेर नि हैन, हैन जानी जानी। तर जन्मिएँ नेपालमै, म भाग्यमानी’।

एउटा गीतको कम्पोज नै तयार भइसकेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। लकडाउन खुलेपछि रेकर्ड गर्ने योजनामा छन्। यहीबीचमा प्रधानमन्त्रीको अर्को गीत बजारमा आएको छ
‘स्वदेशमै रोजगारी
स्वदेशमै बास
रोजिँदैन प्रवास
अब गर्ने देश विकास’
‘बन्छ नमुना नेपाल’ शीर्षकको यो गीत गणतन्त्र दिवसको अवसर पारेर युट्युबमार्फत सार्वजनिक भएको छ । यसअघि प्रधानमन्त्रीका कविता सार्वजनिक भएका थिए।

पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनका क्रममा जेलमा रहँदा उनी कवितालेखनमा सक्रिय थिए। अब भने प्रधानमन्त्री ओलीको अर्को परिचय थपिएको छ गीतकार।

मुलुकको समुन्नत विकासको परिकल्पना गरिएको छ यस गीतमा । स्वदेशमा श्रम, विकास–निर्माण, सुशासन, बालबालिकाको विद्यालयमा पहुँच, भरपर्दो अस्पताल र सामाजिक सुरक्षासहितको नेपालको कल्पना गरिएको छ । त्यसपछि प्राप्त हुने समृद्धिको परिकल्पना गरेका छन्, प्रधानमन्त्री ओलीले।

तर, यो गीतै भनेर प्रधानमन्त्रीले लेखेका थिएनन् । यो कविता थियो, जुन २० वैशाखमा उनले रचना गरेका थिए । त्यही कवितालाई संगीतकार अशोककुमार राईले संगीत भरेका छन् । संगीतकार राईले प्रधानमन्त्रीको सचिवालयमार्फत कविता पाएका थिए।

उनका अनुसार प्रधानमन्त्रीले वैदेशिक रोजगारीमा गएका युवा पुस्तालाई लक्षित गरेर यो गीत लेखेका हुन् । ‘समय सान्दर्भिक रचना पाएपछि गीत बनाउने रुचि लाग्यो,’ उनी भन्छन्।

प्रधानमन्त्री ओलीका ‘खर्पन’, ‘मेरो जून हरायो’, ‘समृद्धिको सपना’, ‘अब आँसु खसाउनु पर्दैन’ कविताहरू प्रकाशित छन्। भर्खरै सार्वजनिक भएको यस गीतमा सञ्जय तुम्रोक, दुर्गा परियार र श्रेयासी चेम्जोङले स्वर दिएका छन्।

लकडाउनका कारण घरभित्रै बसिरहेका कलाकारहरूलाई मोबाइलमार्फत स्वर भर्न लगाएर तिनको संयोजन गरेका हुन् राईले । लकडाउनका वेला मनमैजु, बाँसबारी र मैतीदेवीमा बसेका गायक–गायिकालाई ट्र्याक पठाई मोबाइलमा स्वर भर्न लगाएर तिनलाई जोडेर गीत तयार पारिएको उनी बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .