ad ad

छापा खबर


कोरोना संक्रमितको संख्या बढ्दै तर, परीक्षण घटाउँदै सरकार

कोरोना संक्रमितको संख्या बढ्दै तर, परीक्षण घटाउँदै सरकार

नेपालखबर
बैशाख २५, २०७७ बिहिबार २३:५२,

देशभर कोरोना संक्रमितको संख्या बढ्दै जाँदा परीक्षण भने घटेको छ ।

आरएनए एक्स्ट्राक्सन किट अभावमा पिसिआर परीक्षण घटेको मात्र छैन, पाँच ठाउँका प्रयोगशाला ठप्प भएका खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्।

कोरोना भाइरस पत्ता लगाउने प्रक्रियामा आरएनए एक्स्ट्राक्सन किट अत्यावश्यक हुन्छ । कोरोनाको जीवाणु तीनवटा लेयर (पत्र) भएको खोलभित्र बसेको हुन्छ ।

खोल टुक्राटुक्रा पारेर जीवाणु पत्ता लगाउने रसायन नै आरएनए एक्स्ट्राक्सन हो । राज्यको सम्पूर्ण साधन र स्रोत परिचालन गर्न सक्ने सरकारले १०६ दिनसम्म आरएनए एक्स्ट्राक्सन किट जुटाउन सकेन, जर्मनी र स्विट्जरल्यान्डबाट ३४ हजार किट आएकोले अब परीक्षणले गति लिने सरकारको भनाइ छ।

तर, बिहीबारसम्म काठमाडौंको वीर अस्पताल, चितवनको भरतपुर अस्पताल, धुलिखेल अस्पताल तथा हेटौँडा र धनगढीस्थित प्रयोगशालामा आरएनए किट सकिएका छन् ।

सरकारले धनगढी र हेटौँडाका लागि सम्बन्धित प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत किट पठाएको थियो । उनीहरूले पटक–पटक संघीय सरकारसँग किट माग गरेका छन्, तर पाउन सकेका छैनन् ।

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयमा एक सय, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक सय ५०, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सय, नारायणी अस्पतालमा दुई सय र कोसी अस्पताल विराटनगरमा ५० किट आरएनए बाँकी छ । त्यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले पनि दुई दिन पुग्ने किट बाँकी रहेको जनाएको छ।

किट अभावका कारण पिसिआर परीक्षण पनि घटेको छ । दैनिक एक हजारदेखि १५ सयसम्म हुँदै आएको पिसिआर परीक्षण हाल दुई सयको हाराहारीमा झरेको छ । बिहीबार भने चार सय १५ नमुना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सहयोगी संस्थाहरूले पिसिआर रिएजेन्ट दिएको, तर आरएनए किट नदिएका कारण समस्या भएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

सरकारले ओम्नी समूहमार्फत किनेका १० हजार, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुसँग भएका तीन हजार र राष्ट्रिय क्षयरोग केन्द्र र केही निजी प्रयोगशालाले सहयोग गरेका आरएनए किटबाट हालसम्म परीक्षण हुँदै आएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .