ad ad

छापा खबर


एकजना गाउँपालिका अध्यक्षले नेपालबाट भारतमा कोरोना भित्र्याउन खोजेको भारतीय मिडियाको अफवाह

एकजना गाउँपालिका अध्यक्षले नेपालबाट भारतमा कोरोना भित्र्याउन खोजेको भारतीय मिडियाको अफवाह

नेपालखबर
चैत ३०, २०७६ आइतबार ४:०,

भारतीय मिडियाले पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मुखिया अन्सारीले नेपालबाट भारतमा कोरोना भित्र्याउन खोजेको आरोपसहित सनसनीपूर्ण समाचार दिइरहेका छन्।

जब कि खुला सिमानाका कारण भारतबाट नेपालमा संक्रमण भित्रिने जोखिम बढ्दै छ । सरकार भने यो विषयमा मौन रखेको खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्।

कोरोना नियन्त्रणका लागि सरकारले भारतसँगको सीमा बन्द गरेको शनिबार २१ दिन भइसकेको छ, तर खुला र अव्यवस्थित सीमाको फाइदा उठाउँदै भारतीयहरू नेपाल भित्रिने क्रम रोकिएको छैन । जसले गर्दा नेपालमा संक्रमण फैलने जोखिम झन्–झन् बढ्दै छ।

नाका बन्द गरिएपछि करिब दुई हजार नेपालीलाई भारतीय सीमा क्षेत्रकै क्वारेन्टाइनमा राखिएको छ । त्यस्तै, नेपाली सीमा क्षेत्रमा रहेका क्वारेन्टाइनमा पनि करिब ६ सय भारतीय छन् ।

के हो जालिम मुखिया प्रकरण?
भारतीय मिडियाले सशस्त्र सीमा बल र बिहारको स्थानीय प्रशासनबीच भएको पत्राचारको आन्तरिक दस्ताबेज सार्वजनिक गर्दै पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मुखिया अन्सारीको तस्बिरसहित निन्दा गरिरहेका छन्।

नेपालबाट भारतमा कोरोना भित्र्याउन खोजेको आरोप लगाइरहेका छन् । तर, नेपाल सरकारले अहिलेसम्म यसबारे भारतसँग औपचारिक रूपमा न कुनै प्रश्न सोधेको छ न त भारतले नेपाललाई नै औपचारिक जानकारी गराएको छ।

नेपाली गृह अधिकारीहरूले अनौपचारिक रूपमा बुझ्दा भारतीय अधिकारीले सुरक्षा निकायले गरेको आन्तरिक चिठीपत्र र सुरक्षाको आन्तरिक आकलन मात्र भएको र त्यसको सत्यतामाथि एसएसबीले छानबिन गरिरहेको जवाफ दिएका छन्।

जालिमले भने संकटका वेला भारतका विभिन्न गिरोहले सञ्चारमाध्यम प्रयोग गरेर नेपालमा मुस्लिम र हिन्दूबीच साम्प्रदायिक सद्भाव भड्काउन खोजेको आरोप लगाएका छन् ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले भारतीय सञ्चारमाध्यममा सार्वजनिक भएको भारतीय सुरक्षा मूल्यांकन पत्र गृह मन्त्रालयमा पठाएर जालिमका बारेमा आएका समाचारको जानकारी दिएको बताए।

गाउँपालिकाका अध्यक्ष जालिम मियाँले भने संकटका वेला नेपालविरुद्ध षड्यन्त्र भएको बताए ।

‘यो मूर्खतापूर्ण विश्लेषण हो। मिडियाले पनि त्यसैलाई आधार मानेर नेपालविरुद्ध षड्यन्त्र गरिरहेका छन् । हामीलाई नलाग्ने, हामीले कोरोना भारतमा पठाउन सक्ने भन्ने पनि कुनै तर्क हो? मलाई भारतीय मिडियाले भाइरस उत्पादक भएजसरी चित्रण गरिरहेका छन् । संकटका वेला नेपालविरुद्ध षड्यन्त्र भएको छ । यसलाई बुझ्नुपर्छ,’ उनले भने।

अध्यक्ष जालिम मुखियाले आफू घरमै रहेको र कहीँबाट असुरक्षा नभएको बताए । उनले भने, ‘भारतीय मिडियाले मेरो बदनाम गरे । मलाई कहीँकतैबाट धम्की वा असुरक्षा भएको छैन । त्यस्ता अफवाहका पछाडि लाग्नु हुँदैन भन्ने मलाई लाग्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .