ad ad

छापा खबर


चीनबाट फर्काइने नागरिक राख्ने ठाउँ छनोट

चीनबाट फर्काइने नागरिक राख्ने ठाउँ छनोट

नेपालखबर
माघ २३, २०७६ बिहिबार ०:५४,

चीनबाट फर्काइने नागरिक राख्न भक्तपुरको खरिपाटीस्थित विद्युत् प्राधिकरणको कर्मचारी तालिम केन्द्र छनोट गरिएको छ ।

मुख्यसचिव लोकदर्शन रेग्मीको संयोजनमा बुधबार सिंहदरबारमा बसेको बैठकले खरिपाटीको तालिम केन्द्र छनोट गरी प्रधानमन्त्री केपी ओलीलाई प्रस्ताव गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्।

प्रस्तावमा समर्थन जनाएका प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठकबाट निर्णय गर्ने जवाफ दिएका छन् ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले खरिपाटीको विद्युत् प्राधिकरणको तालिम केन्द्र सबैको रोजाइमा परेको, तर मन्त्रिपरिषद्बाट औपचारिक निर्णय हुन बाँकी रहेको बताए ।

‘चार-पाँचवटा सम्भावित स्थानबारे छलफल भयो, तीमध्ये सुरक्षित खरिपाटी तालिम केन्द्र नै भएको निष्कर्ष निकालिएको छ,’ मन्त्री ढकालले भने । मन्त्रिपरिषद्ले क्वारेन्टाइनबारे निर्णय गरेपछि चीनबाट नागरिक फर्काउने प्रक्रिया औपचारिक रूपमा सुरु हुने सैनिक स्रोतले जनायो ।

हुबेई प्रान्तका ६ स्थानका एक सय ८० नेपालीले स्वदेश फर्किनका लागि बेइजिङस्थित नेपाली दूतावासमा फारम भरिसकेका छन् ।

उनीहरू सबैलाई एकै स्थानमा राख्ने गरी सरकारी अधिकारीले कार्ययोजना बनाएका छन् । १९ वटा मात्रै कोठा खाली रहेको भन्दै मंगलबार उक्त तालिम केन्द्रमा प्रतिकोठा तीनजनाका दरले ५७ जना मात्रै राख्न सकिने निष्कर्ष निकालिएको थियो ।

तर, सबै कोठा खाली गर्दा वुहानबाट ल्याइने सबै अटाउने देखिएपछि सेनाले बुधबार यही तालिम केन्द्र प्रस्ताव गरेको हो । रक्षा मन्त्रालयको समन्वयमा उनीहरूको उडान, उपचार, सुरक्षा र खाने-बस्ने बन्दोबस्तको व्यवस्था गरिएको छ ।

१४ दिन क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरेपछि मात्रै घर फर्काउने योजना बनाइएको छ । यसअघि सेनाको पाँचखालस्थित वीरेन्द्र शान्तिकार्य तामिल केन्द्रलाई पनि सम्भावित क्वारेन्टाइनका रूपमा प्रस्ताव गरिएको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .