ad ad

छापा खबर


टोखा-नुवाकोट सुरुङमार्ग अध्ययन गर्न चिनियाँ प्राविधिक टोली काठमाडौँ आइपुग्यो

टोखा-नुवाकोट सुरुङमार्ग अध्ययन गर्न चिनियाँ प्राविधिक टोली काठमाडौँ आइपुग्यो

नेपालखबर
पुस ११, २०७६ शुक्रबार १:०,

काठमाडौँ उपत्यकालाई कम समय र दूरीमा चीनको सिमाना रसुवागढीसँग जोड्ने उद्देश्यसहित प्रस्तावित राजधानीको टोखा–नुवाकोट सुरुङमार्गको अध्ययन गर्न चिनियाँ प्राविधिक टोली नेपाल आइपुगेको छ।

टोली शुक्रबार नै सम्बन्धित क्षेत्रमा पुग्ने छ । चीनका राष्ट्रपति सी चिनफिङको केही महिनाअघि सम्पन्न नेपाल भ्रमणका क्रममा नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच भएको समझदारी अनुसार काठमाडौँको टोकादेखि नुवाकोटको छहरेसम्म सुरुङमार्ग निर्माणबारे अध्ययन थालिएको हो।

निर्माण कार्यका लागि अध्ययनलाई अगाडि बढाउनेबारे छलफल गर्न उच्च स्तरीय चिनियाँ प्राविधिक टोली नेपाल आएको खबर आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले भने, ‘‘चीनका राष्ट्रपतिको नेपाल भ्रमणको क्रममा टोखा–छहरे सुरुङमार्ग निर्माणबारे भएको समझदारी कार्यान्वयनका रूपमा सो प्राविधिक टोली नेपाल आएको हो। अध्ययनका लागि टोली एक महिनासम्म सोही सिलसिलामा नेपाल बस्ने छ।’’

चिनियाँ राष्ट्रपतिले असोज २५ र २६ गते नेपालको राजकीय भ्रमण गरेका थिए।

थापाका अनुसार टोलीमा चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनी, हाइवे कन्सल्ट्यान्ट लिमिटेडका प्रमुख इन्जिनियर कायी जिङ वाङको नेतृत्वमा नौजना छन्।

सो सुरुङमार्गको अध्ययन तथा निर्माणबारे नेपाल सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समेत उल्लेख गरिएको छ।

 ‘‘टोलीले अध्ययनको क्रममा सुरुङमार्ग निर्माणबारे तथ्याङ्क सङ्कलन, बनाउनुपर्ने सुरुङमार्गको लम्बाइ र चौडाइ अहिले सञ्चालनमा रहेका कुन कुन सडकका सवारीसाधन सो सुरुङमार्गमा ‘डाइभर्ट’ हुन्छ, यस सुरुङमार्गको सवारी चाप के कति हुनसक्छ, कति जनता लाभान्वित हुनसक्छ लगायतका विषयमा गहन अध्ययन गर्ने छ । टोली तीन महिनाभित्र सन् २०२० को मार्चमा सोको प्रतिवेदन चीन सरकारलाई बुझाउँछ । चीनले सो प्रतिवेदन नेपाल सरकारलाई हस्तान्तरण गर्ने छ,’ थापाले भने।

सुरुङमार्ग निर्माणबारे तीन वर्षअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रारम्भिक अध्ययन गरेको थियो । अध्ययनले सो सुरुङमार्गको निर्माण तथा सञ्चालन सम्भव रहेको देखाएको थियो।

काठमाडौँको टोखादेखि नुवाकोटको छहरेसम्म सो सुरुङमार्गको कुल लम्बाइ सात किलोमिटर हुनेछ । चौडाइ डबल लेन तथा एकातिर ‘सर्भिस ट्र्याक’ हुने र कुल निर्माण लागत तीस अर्ब रुपियाँ लाग्न सक्ने अनुमान गरिएको छ।

सुरुङमार्गको निर्माणपछि अढाई घण्टामा नै राजधानीदेखि चीनको सिमानासम्म र आधा घण्टामा नुवाकोटको थानसिंह फाँटसम्म पुग्न सकिने छ । यो सुरुङमार्ग निर्माण भएपछि थानसिंह फाँटमा स्याटेलाइट सिटी निर्माण गर्ने योजना सरकारको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .