ad ad

छापा खबर


भ्युटावर निर्माणमा अवरोधपछि एसएसबीले सन्दकपुर प्रवेशमै रोक लगायो

भ्युटावर निर्माणमा अवरोधपछि एसएसबीले सन्दकपुर प्रवेशमै रोक लगायो

नेपालखबर
मंसिर २, २०७६ सोमबार ३:५७,

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सीमा क्षेत्रमा रहेको इलामको सन्दकपुर (३ हजार ६ सय ३६ मिटर उचाइ) को भ्यु–प्वाइन्टमा जान पर्यटकलाई निषेध गरेको छ।

एसएसबीले तीन देशका हिमालको दृश्यावलोकन गर्न सकिने सन्दकपुरको चुचुरोमा जान र तस्बिर खिच्न निषेध गरेको सूचना बोर्ड त्यहाँ राखेको खबर आजको नागरिक दैनिकमा भीम चापागाईंले लेखेका छन्।

एसएसबीले यसअघि सन्दकपुर चुचुरोमा जान, घुम्न, तस्बिर खिच्न यस्तो निषेध गरेको थिएन। अहिले तस्बिर खिच्न नदिने मात्र होइन, खिचिसकेको तस्बिर डिलिट गर्न लगाउने गरेको गुनासो पर्यटकको छ।

पूर्वाधारविहीन यो चुचुरोमा भ्यु–प्वाइन्ट बनाउने सन्दकपुर गाउँपालिकाको प्रयास असफल पारेपछि एसएसबीले त्यहाँ प्रवेशमा कडाइ गरेको हो।

सन्दकपुर जिल्लाकै सर्वोत्कृष्ट पर्यटकीय गन्तव्य हो। सर्वोच्च शिखर सगरमाथासहित नेपाल, भारत र भुटानका हिमाल यहाँबाट अवलोकन गर्न सकिन्छ।

बर्सेनि आउने हजारौं पर्यटकले यो स्थानबाट सूर्योदय, सूर्यास्तलगायत दर्जनौं हिमशृंखला अवलोकन गर्छन्। तर एसएसबीको धम्कीपछि पर्यटक यो चुचुरोमा जान हच्किन थालेका छन्। केही पर्यटक मात्र एसएसबीको आदेश बेवास्ता गरी सन्दकपुर डाँडामा पुग्ने गरेका छन्।

सन्दकपुर चुचुरोभन्दा करिब डेढ सय मिटर तल बेसक्याम्प नै बनाएर बसेको एसएसबीले पर्यटकले तस्बिर खिचेको देखे हप्कीदप्की गर्दै आएको छ।

सन्दकपुर डाँडामा पुग्ने पर्यटकले के गर्छन् भन्नेबारे जानकारी लिन एसएसबीका जवानहरूले नजिकैबाट पहरा दिन्छन्।

‘सन्दकपुर डाँडामा पुगेर वरिपरिको दृश्य मोबाइलमा खिच्दै गर्दा तलैबाट एसएसबीका जवानले छिटो त्यहाँबाट फर्किन र तस्बिर नखिच्न भने,’ इलाम नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष ठाकुरनारायण श्रेष्ठले भने, ‘त्यहाँ पुगेका पर्यटकलाई एसएसबीले घुम्न नदिनु र तस्बिर पनि खिच्न नदिनु हेपाहा प्रवृत्ति हो।’

सन्दकपुर इलाम जिल्लाकै सर्वोत्कृष्ट पर्यटकीय गन्तव्य हो। सर्वोच्च शिखर सगरमाथासहित नेपाल, भारत र भुटानका हिमाल सन्दकपुर डाँडाबाट अवलोकन गर्न सकिन्छ।

सन्दकपुरको पनि मुख्य विन्दु सन्दकपुर चुचुरो नेपाल–भारत सीमाको दसगजामा पर्छ। इलामकै जिर्मलेदेखि सन्दकपुरसम्मको साढे ५२ किलोमिटर सीमा क्षेत्रको दसगजामा विद्यालय, घर, प्रहरी पोस्टलगायत दर्जनौं संरचना बनाएको भारतले नेपालीलाई चाहिँ कुनै संरचना निर्माण गर्न दिँदैन।

सन्दकपुर गाउँपालिकाले करिब एक करोड रुपैयाँ खर्चेर सन्दकपुरमा बनाउन लागेको भ्यु–प्वाइन्ट दसगजामा परेको भन्दै एसएसबीले निर्माण रोकिदिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .