सरकार विरोधी अन्दोलनकारीहरुले बुधबार साँझ शहरका बिभिन्न सपिङ मलहरुमा भेला भएर आन्दोलनको पक्षमा बनाईएको ‘ग्लोरी टु हङकङ’ बोलको गीत गाएका थिए।
बिहीबार बेइजिङ तथा सरकारका संयौं समर्थकले सेन्ट्रलस्थित आईएफसी मलमा भेला भएर राष्ट्रिय झण्डा बोकेर तथा चिनियाँ राष्ट्रिय गान गाएर आन्दोलनकारीको विरोध गरेका हुन्।
सरकारको समर्थनमा निकालिएको र्यालीमा उपस्थित मानिसहरुले आन्दोलनकारीहरुलाई ‘साङ्लो’ र ‘फोहरी’ भन्दै उनीहरुको कार्यको निन्दा गरेका थिए।
बिहीबार बेजिङका समर्थकहरु अपरान्ह करिब १ बजे सपिङ मलहरुमा भेला भएका थिए। भेला भएको स्थानको माथिल्लो तल्लाबाट विशाल चिनियाँ झण्डा फहराइएको थियो।
उनीहरुले ‘हङकङ चीनको हो, हङकङलाई मद्दत गरौं, हङकङ प्रहरीलाई साथ दिऔं’जस्ता नारा लगाएका थिए।
चिनियाँ राष्ट्रिय झन्डा बोकेर र्यालीमा उपस्थित भएका एक सहभागीले मानिसहरूलाई “दङ्गाकारीहरू“सँग लड्न आमन्त्रित गरेका थिए। उनले “दङ्गाकारीहरू आऊ, हामी लडाइँ गरौं’ भनेका थिए।
बेजिङ समर्थकहरूले संचारमाध्यमसँग कुराकानी गर्न भने आनाकानी गरे।
गत मङ्गलबार कजवे बे रंगशालामा हङकङ र इरानबीच विश्वकप छनौट चरणको खेल हुने क्रममा चिनियाँ राष्ट्रिय धुन बजाउँदा आन्दोलनकारीहरुले होहल्ला मच्चाएका थिए।
त्यसबेला सरकार विरोधी समूह र सरकारको समर्थनमा रहेको समूहबीच झडपसमते भएको थियो।
खेलका क्रममा पनि प्रदर्शनकारीले ‘हङकङलाई मुक्त गरांै, हाम्रो समयको क्रान्ति’ भनेर नारा लगाएका थिए।
सरकारका विरोधीहरुले बिहीबार राति शहरका विभिन्न स्थानमा भेला भएर जुलुस निकाल्ने सरकार विरोधी गीत गाएर प्रदर्शन गर्ने जनाएका छन्। उनीहरुले फेरि आईएफसी मलमा बेलुकी ७ बजे छायाँ राष्ट्रिय गीतको रुपमा ‘ग्लोरी टु हङकङ’ गाउने बताएका छन्।
प्रतिक्रिया