भारतको प्रसिद्ध सिङ्गिङ रियालिटि सो ‘सा रे ग म लिटल च्याम्प्स’ प्रतियोगिताको सिजन २०१९ तर्फ फर्स्ट रनर अप भएका प्रितम आचार्यलाई हङकङका नेपालीहरुले ‘स्टार क्रुज’ मा भेटघाट गरी सम्मान गर्ने भएका छन्।
पूर्वी नेपालको यातायात केन्द्रको रुपमा परिचित ईटहरी उप महानगरपालिका निवासी प्रितमलाई ईटहरी मञ्च हङकङको आयोजनामा हङकङमा सम्मान गर्न लागिएको हो।
मन्चले आइतबार बिहान यौ मा तेईस्थित एनएचडीडी स्टुडियोमा पत्रकारहरु समक्ष उक्त जानकारी गराएको हो।
आयोजकका अनुसार उक्त कार्यक्रम आगामी सेप्टेम्बर २९ आइतबारका दिन स्टारफेरि चिम शा शुईस्थित स्टार क्रुजमा बिहान ११ बजेर १५ मिनेटमा सुरु हुनेछ।
सशुल्क प्रवेश तोकिएको उक्त भेटघाटमा बफेट लन्च सहितको करिब ३ सय नेपालीहरु उपस्थित हुने आयोजकका सचिव तुल्सी उप्रेतिले बताएको छन्।
सन् २०१७ मा स्थापित उक्त मञ्चका अध्यक्ष राजु राईले कार्यक्रमको औचित्य प्रष्ट पार्दै भने,“प्रितम ईटहरीका मात्रै नभएर सिङ्गो नेपालकै शान र गौरव हो, हामीले मन्च मार्फत् ईटहरी तथा गैर ईटहरीबासीहरुले उनको प्रतिभालाई सम्मान गर्न उक्त भेला जमघट गर्न लागेका हौ।’’
स्टार क्रुज जस्तो खर्चिलो स्थानमै कार्यक्रम किन रोज्नु भएको भनेर नेपालखबरले सोधेको प्रश्नमा राईले भने,“हङकङमा जन्मिएको संस्थाहरुमा मञ्च नयाँ र कान्छो हो, नयाँ संस्था भएपछि नयाँ काम र नयाँ ठाउँमै गरौं न भन्ने मञ्चको सोच अनुरुप क्रुजमा कार्यक्रम गर्न लागेको हौं। प्राय सबै संस्थाहरुले कि त हलमा कि त पार्कमा कार्यक्रम गर्दै आएको हुँदा हामीले चाहिँ क्रुजमा गर्न लागेको हौ।’
‘प्रितम आफैं स्टार हुन्, स्टारलाई स्टारमै सत्कार गर्न लागेका हाै, उनी यसका लागि योग्य छन्।’ उनले भने।
संस्थापक अध्यक्ष रत्न खिमदिङका अनुसार उक्त कार्यक्रम हङकङमा रहेका स–साना स्कुले भाइ बहिनीहरुलाईसमेत प्रितमसङ्ग भेटघाट गराउने, अनुभव तथा प्रेरणाहरु आदानप्रदान गराउने प्रयत्न हो।
यसको लागि हङकङको स्कूलमा अध्ययन गरिरहेका बिद्यार्थी तथा स्कुलहरुसङ्ग आफूहरुले संवाद गरिरहेको खिमदिङले बताएका छन्।
उनले कार्यक्रमबाट बचेको रकमले ईटहरीमा अस्थायी शौचालय बनाउने सोच रहेको समेत बताएका छन्।
सा रे ग ममार्फत प्रितमले करोडौं दर्शक तथा श्रोताहरुको मन जित्न सफल भएका थिए। त्यस अगाडि नेपालमै आयोजना भएको सुरसाला आइडलमा प्रितम दोस्रो भएका थिए।
Shares
प्रतिक्रिया