शौचालय निर्माण सम्पन्न भएपछि ताप्लेजुङ समाज हङकङले सोमबार एक औपचारिक कार्यक्रममार्फत शौचालयको चाबी हस्तान्तरण गरे।
समाजका उपाध्यक्ष तथा शौचालय निर्माण समितिका संयोजक लोकेन्द्र आङवुहाङले नगरपालिकाका मेयर छत्रपति प्याकुरेललाई चाबी हस्तान्तरण गरेका हुन्।
ताप्लेजुङमा घर भएका तर हङकङमा पेशा व्यावसाय गर्दै आएका ताप्लेजुङ्गेहरुको अग्रसरतामा २८ लाख रुपैयाँ संकलन गरेर सदरमुकाम फुङलिङ बजारमा सार्वजनिक शौचालय निर्माण गरिएको हो।
शौचालय निर्माणका लागि ताप्लेजुङ समाज हङकङको नेतृत्वमा रकम संकलन गरिएको थियो।
शौचालयको निर्माणको औचित्य बारे उपाध्यक्ष आङबुहाङले नेपालखबरलाई भने,“पूर्वी पहाडकी रानी मानिने फुङलिङ बजारमा सार्वजनिक शौचालय नहुँदा आन्तरिक तथा बाह्य पर्यटक र सर्वसाधारणलाई समस्या हुने गरेको थियो। जिल्ला सदरमुकामको सोही अवस्था देखेपछि आफूहरुलाई तलबको केही हिस्सा छुट्टाएर शौचालय बनाउने सोच आएको हो।’
शौचालय निर्माणका लागि समाजका सचिव सन्तोष तामाङले नगरपालिकासँग समन्वय गरेका थिए।
शौचालयको उद्घाटन गर्दै मेयर प्याकुरेलले समाजलाई आभार प्रकट गर्दै भने ,“तपाईहरुको मातृभूमी प्रतिको मायाले जन्माएको यो नासोलाई जतन गर्नेछौं। कर्मचारी राखेरै नगरपालिकाले व्यवस्थापन गर्नेछौं।ण्द्दज्ञड
चार वर्षअघि नै नगरपालिका खुलादिशामुक्त घोषणा भएपनि यसअघि फुङलिङमा सार्वजनिक शौचालय भने थिएन। सर्वसाधारणले शौच गर्नुपरे होटल र नजिकको सामुदायिक वनमा जानुपर्ने बाध्यता थियो।
अब शौचालय निर्माण पश्चात यो क्षेत्र थप सफा र सुन्दर हुनेछ। यही वर्ष नगरपालिकाको वडा नं ५ ले पुरानो बैंकलाईनमा समेत शौचालय निर्माण गरेको छ। यसले बजार क्षेत्र समेत स्वच्छ हुने स्थानीयले अपेक्षा गरेका छन्।
नेपालको विकास निर्माणमा हङकङबासी नेपालीहरुले उल्लेखनीय भूमिका खेल्दै आएका छन्।
प्रतिक्रिया