हङकङको उच्च अदालतले मंगलबार सन् २०१८ को घटनामा ती दम्पतीलाई दोषी ठहर गरेको हो।
हत्यामा संलग्न २९ वर्षका पुरुष बालिकाको आफ्नै पिता हुनभने ३० वर्षकी महिला बालिकाको सौतेनी आमा हुन्।
उनीहरुको नाम गोप्य राखिएको छ। उनीहरुलाई आजीवन सजाय हुनसक्छ साथै यस क्रुर घटनामा संलग्नमा भएको आरोपमा महिलाकी आमालाई १० वर्षसम्म जेल हुनसक्ने बताइएको छ।
बुधबार उनीहरुलाई के सजाय हुने भनेर सुनुवाई हुनेछ।
हत्या गरिएकी बालिकाको दाई हाल ११ वर्षका किशोरले उच्च अदालतमा हालै आफ्नो बहिनीको हत्यामा पिता र सौतेनी आमाको संलग्नता भएको बयान दिएका थिए।
उनले सौतेनी आमाकी ५६ वर्षकी आमाले पनि आफूहरुलाई दोहोर्याउँदै दुर्व्यवहार गरेको अदालतमा सुनाएका थिए।
किशोरले अदालतमा के भनेका थिए?
गत महिनाको सुरुवातमा किशोरले परिवार भित्रको क्रुर हिंसा उच्च अदालतमा सुनाएका थिए। किशोर बहिनीको हत्या भएको वर्ष ८ वर्षका थिए।
हाल ११ वर्षका उनले अदालतमा आफ्नी ५ वर्षकी बहिनीलाई बुबा र सौतेनी आमाले नै मारेको भनेर अदालतमा वृतान्त सुनाएका थिए।
उनले भनेका थिए,‘तीन वर्ष अगाडि जनवरीको रात ५ वर्षकी आफ्नी बहिनीलाई छिटो हिँड्न नसकेको भन्दै पिताले निर्घात कुटपिट गर्नुका साथै उनको टाउको छानामा जानाजान बजारेका थिए।’
‘पिताले बहिनीको टाउको छाना बज्ने गरी ठोक्काउँदा बहिनी निकै रोएकी थिइन्। बहिनीलाई त्यो दिन भुइँमा बिना ओड्ने सुताइएको थियो’ उनले भनेका थिए,‘त्यसको पछिल्लो दिन बिहानै बहिनीको मृत्यु भएको थियो।’
बहिनी ३ वर्षको हुँदादेखि नै आफूहरुमाथि कुटपिट भएको किशोरको भनाइ थियो। सौतेनी आमाको एक सन्तानलाई भने उनीहरुले कहिल्यै कुटपिट नगरेको उनले सुनाएका थिए।
आफूहरुलाई खानासमेत नदिएको किशोरको भनाइ थियो। आफूले सपनामा खाना खाएको देखेर पेट भर्ने गरेको उनको बयान थियो।
तर उनका पिता, सौतेनी आमा र सौतेनी हजुरआमाले बालिकाको हत्याको विषयलाई अस्वीकार गर्दै आएका थिए।
सुक्ष्म अनुसन्धान र प्रमाणहरुका आधारमा अन्ततः आफ्नै पिता र सौतेनी आमाबाटै बालिकाको हत्या भएको फैसला गरिएको हो।
प्रतिक्रिया