सुपुर्दगी बिधेयक बिरुद्द गत सोमबार हङकङमा भएको आम हडतालमा प्रहरी र आन्दोलनकारीहरुबीच व्यापक झपड, तोडफोड, आगजनी र धरपकड भए पश्चात् आज मंगलबार दोस्रोपटक बहुप्रतिक्षित प्रेस ब्रीफिङ सम्पन्न भएको छ।
उक्त प्रेस ब्रीफिङ मंगलबार अपराह्न २:३० बजे बिजिङमा हङकङ र मकाउ मामिला हेर्ने कार्यालयद्वारा आयोजित गरिएको थियो। प्रवक्ता यांग ग्युवङले सम्बोधन तथा पत्रकारहरुको जवाफ दिएका थिए।
ब्रीफिङमा बेजिङले हङकङमा चलिरहेको आन्दोलनलाई मथ्थर पार्न केही सहयोग पुर्याउछ? वा समर्थन जारी राख्ला? वा आन्दोलन प्रती बेजिङकै धैर्यता समाप्त भएको कुनै संकेत देखाउला? बेइजिङले हाल हङकङको सामाजिक प्रकृतिको आन्दोलनलाई कसरी परिभाषित गर्ला? कि आन्दोलनकारीलाई ठेगान लगाउन जनमुक्ति सेनालाई परिचालन गर्ला जस्ता थुप्रै कौतुहलता सिर्जना गरेको थियो।
प्रवक्ता याङले हङकङको बर्तमान आन्दोलन फर्कन नसकिने भिरमा पुगेको संकेत गरे। साथै चीन बिरोधी एक सानो समुहले नागरिक अबज्ञा गर्दै शान्ति खलल गरेको बताएका छन्। उनले हङकङको भविष्य १ अर्ब ४ करोड चिनियाँहरुको हातमा रहेको बताउँदै हङकङका जनताहरुलाई हिंसा विरुद्द एकजुट हुन आग्रह गरे।
उनले जथाभावी हिंसा मच्चाउनेलाई त्यसको मुल्य चुकाउनु पर्ने समेत चेतावनी दिएका छन्। याङले हङकङ सरकार र न्यायपालिकालाई कानूनी राज्यको पालना गराउन तथा कानुन मिच्नेलाई सजाय दिलाउन सुझाव दिँदै प्रहरीले खेलेको भूमिकाको प्रशंसा गरेका छन्। केन्द्र सरकारलाई हिंसा सह्य नहुने बताउँदै हिंसाको अन्त्य र सार्वजनिक सुरक्षाको पुनर्स्थापना गर्ने प्रमुख प्राथमिकता रहेको उनले बताए।
शुरुमा शान्तिपुर्ण प्रदर्शन भए पनि पछिल्लो समयमा हिंसात्मक भै नियन्त्रण बाहिर जाँदा एक देश, दुई प्रणालीको आधारस्तम्भ खलल पुर्याएको बताईएको छ। पत्रकारहरुको प्रश्नको जवाफ दिँदै याङले आन्दोलनमा ताइवान, अमेरिका र पश्चिमा शक्तिहरुको उक्साहट भएको बताएका छन्।
उक्त शक्तिले यहाँका युवाहरुलाई चीनको बिरोधमा उतारेको आरोप लगाए। साथै त्यस्तो हुनुमा देश प्रेम सम्बन्धि शिक्षाको अभाव भएको पनि उनले बताए। साथै कथित हडतालले जनजीवनलाई अस्तब्यस्त बनाएको हुँदा जनताको मन जित्न नसक्ने बताउँदै बेजिङले यसलाई हास्यास्पद रुपमा लिएको बताए।
अर्को पत्रकारलाई जवाफ दिँदै हालमा क्यारी लामको विकल्प नभएको हुँदा उनैलाई बेजिङले समर्थन गर्ने बताउँदै बर्तमान आन्दोलनको समस्यालाई प्रहरीले सुल्झाउन सक्ने बताउँदै स्थानीय सरकारले अनुरोध गरे कानुन अनुरुप जनमुक्ति सेना परिचालन गर्न सकिने संकेत समेत दिएकाे छ।
उक्त प्रेस ब्रीफिङले आन्दोलनकारीहरु निरास र रुष्ट बनेको छ। जसले हङकङ थप जटिलता तर्फ धकेलिने त्रास बढेको छ।
आन्दोलनको समर्थन गर्दै छुट्टै पत्रकार सम्मेलन
आन्दोलनकारीहरुको नेतृत्व गर्ने नेता नभएको भन्ने आलोचना भैरहेको बेला हङकङमा युवाहरुले छुट्टै काउन्टर प्रेस मिट गरेक छन्। आन्दोलनकारीहरुले प्रयोग गर्ने अनलाईन एलआईएचकेजी प्लेटफर्म बाट आह्वान गर्दै मंगलबार उक्त प्रेस मिट भएको हो।
कालो टि सर्ट, मास्क र हेलमेट लगाएका १८-३२ वर्षीय लाईनस, जेरि र मेरि गरी दुई युवा र एक युवतीले उक्त प्रेस मिटलाई सम्बोधन गरेका छन्। मङकोकको कुनै अज्ञात स्थानमा सम्पन्न उक्त सम्मेलनमा सरकारलाई दैनिक प्रेस मिटमा जनताको ढुकुटी प्रयोग नगर्न भनेका छन्।
उनीहरुले सुपुर्दगी विधेयक पुर्ण खारेजी, प्रहरी ज्यादतीको निष्पक्ष छानबिन आयोगको गठन, प्रमुख कार्यकारीको निर्बाचन सम्बन्धी सुधार, पक्राउ परेकाहरुलाई आममाफी र आन्दोलनकारीहरुलाई दङ्गाको बिल्ला भिराउन नपाइने पाँच मागलाई सरकारले सिधा सम्बोधन गर्नु पर्ने माग राखेका छन्। यद्यपि उनिहरुले आन्दोलनकारीहरुको प्रतिनिधित्व नगरेको बताएका छन्।
प्रतिक्रिया