हङकङ आगलागीः छोराको जन्मदिन मनाउन नपाउँदै एकै नेपाली परिवारका चार जनाको गयो ज्यान

हङकङ आगलागीः छोराको जन्मदिन मनाउन नपाउँदै एकै नेपाली परिवारका चार जनाको गयो ज्यान

नेपालखबर
मंसिर २, २०७७ मंगलबार १३:१०,

हङकङको जोर्डनमा आइतबार राति भएको आगलागीमा एउटै नेपाली परिवारका चार जनाको ज्यान जाँदा परिवारका अन्य सदस्य र नेपाली समुदाय शोकमा डुबेका छन्।

तिहारको अवसर समेत पारेर तीन वर्षीय छोराको जन्मदिन मनाउन नेपाली रेष्टुरेन्टमा भेला भएका बागलुङका युवराज कँडेल, उनकी छोरी कृतिका, ज्वाइँ राजबाबु नेपाल र भान्जा रायन नेपालको आगलागीमा परेर ज्यान गएको हो।

चिन्ताजनक अवस्थामा रहेका युवराजकी श्रीमति, भाइ, बुहारी, भतिज र भतिजीसहित पाँच जनाको उपचार भइरहेको छ।

HK Fire
***
हङकङ निवासी बागलुङका युवराज कँडेल आइतबार साँझ आफ्नो छोराको जन्मदिन मनाउन जोर्डनको जिरे खुर्सानी रेष्टुरेन्टमा पुगे।

जोर्डनको क्यान्टोन रोड र साइगोन रोडको छेउमा रहेको ६७ वर्ष पुरानो आवासीय घरको पहिलो तलामा रहेको ‘जिरे खुर्सानी क्लव’ नामको आठ सय स्क्वायर फिटको यो सानो रेष्टुरेन्ट नेपालीले नै सञ्चालन गर्दै आएका थिए। हङकङमा ‘भट्टी’ ‘दुले रेष्टुरेन्ट’ जस्ता उपनामले चिनिने यस्ता साना रेष्टुरेन्टलाई दिनभर काम गरेर फर्केका नेपालीहरूले खाँदै–पिउँदै रमाइलो गर्ने थलो बनाउँदै आएका छन्।

नेपालीको बाक्लो बस्ती रहेका जोर्डन, याउमातेइ क्षेत्रमा करिब ८० वटा यस्ता रेष्टुरेन्ट रहेको अनुमान छ, जुन प्रायः क्लवका नाममा सञ्चालन हुने भएकाले दर्ता गरेर लाइसेन्स लिने जस्ता कानुनी प्रक्रिय पूरा गरेका हुँदैनन।

बागलुङ समाज हङकङका आजीवन सदस्य समेत रहेका कँडेलको साथमा थिए, उनकी श्रीमति गीता कँडेल, छोरी कृतिका कँडेल र ३ वर्षीय छोरा।

स्वाभाविक रुपमा छोराको जन्मदिनका निम्तालु परिवारका सदस्य, आफन्त र नजिकका साथीभाइ नै हुन्छन्।

युवराजका छोराको जन्मदिन मनाउन पुगे, उनकी बहिनी तुल्सी नेपाल, उनका श्रीमान राजबाबु नेपाल, उनीहरूका ठूलो छोरा रायन नेपाल र ७ वर्षीय कान्छो छोरा।

युवराजका भाइ कृष्णबहादुर कँडेलका परिवार पनि भतिजको जन्मदिन पार्टीमा निम्त्याइएका थिए। बागलुङ समाज हङकङका कार्यसमिति सदस्य समेत रहेका कृष्णबहादुर कँडेल श्रीमति देविका कँडेल, सुरेखा कँडेल र छोरा सालिग्राम कँडेलका साथमा रेष्टुरेन्ट पुगेका थिए।

प्रत्यक्षदर्शी घाइतेहरूलाई उधृत गर्दै हङकङका केही नेपाली सामाजिक अगुवाहरूले गरेको ब्रिफिङ अनुसार युवराजको ३ वर्षीय छोराको जन्मदिनको केक काट्ने तयारी हुँदै गर्दा साँझ करिब ८ः३५ बजे अचानक आगलागी सुरु भयो, जुन निभाउने रेष्टुरेन्ट सञ्चालकको प्रयास असफल भएपछि त्यसले बिस्फोटक रुप लियो।

‘आगो दन्किएपछि रेष्टुरेन्टको ढोका र झ्यालबाट भाग्न पनि सम्भव भएन, अनि हामी केही ट्वाइलेटभित्र छिरेर जोगियौं’, एक जना प्रत्यक्षदर्शीलाई उधृत गर्दै एक सामाजिक अभियन्ताले भने, ‘ रेष्टुरेन्टको डाइनिङमा भएकालाई आगोले लपेट्यो, हामी निस्कने बेला हेर्दा उनीहरू भुइँमा लडिरहेको दर्दनाक दृश्य देख्यौं।’

प्रहरी र अग्नी नियन्त्रक सुरक्षाकर्मीले जलेर भुइँमा लडेका मानिसहरू उठाएर उद्धार गरेको थियो। शरीरको ६० प्रतिशतभन्दा बढी भाग जलेको अवस्थामा अस्पताल पुर्याइएका युवराजको परिवारका चार जनाको तत्कालै मृत्यु भयो। 

HK Fire5
क्वीन एलिजावेथमा बिनिता तामाङको शव आफन्तले रुजु गरेका छन् (तस्बिरः यमलाल कँडेल)

हङकङ सरकारले दिएको विवरणहरू अनुसार ३८ वर्षीय युवराजको मृत्यु क्वांग वाह अस्पताल भएको छ भने १३ वर्षीया छोरी कृतिकाको मृत्यु क्वीन एलिजावेथ अस्पतालमा। क्वांग वाह अस्पतालमै उनका ज्वाइँ ३५ वर्षीय राजबाबु नेपाल र ९ वर्षीय भान्जा रायनको मृत्यु भएको छ।

चिन्ताजनक अवस्थामा रहेका युवराजकी श्रीमति गीता कँडेलको प्रिन्स मार्गरेट अस्पतालमा उपचार भइरहेको छ। त्यस्तै क्वीन एलिजावेथ अस्पतालमा उपचार भइरहेका युवराजका भाइ कृष्णबहादुर कँडेल, बुहारी देविका कँडेल, १८ वर्षीया भतिजी सुरेखा कँडेल र चाइ वान अस्पतालमा उपचार भइरहेका १३ वर्षीय भतिज सालिग्राम कँडेलको अवस्था चिन्ताजनक रहेको छ।

यस्तो छ मृतक र घाइतेको विवरणः

HK fire13

युवराजका ३ वर्षीय छोरा, बहिनी तुल्सी नेपाल र उनको ७ वर्षीय कान्छो छोरा सामान्य अवस्थामा छन्।

रेष्टुरेन्टको सुरक्षा सतर्कता र परिवारले सचेतता नअपनाउँदा हङकङमा रहेको बागलुङको एउटा परिवार नै ठूलो पीडामा परेको छ।

यो परिवार बाहेक ३९ वर्षीय शेरबहादुर गुरुङ, ३२ वर्षीया अनिता निरौला, ४० वर्षीया बिनिता तामाङको पनि मृत्यु भएको छ।

त्यस्तै ३४ वर्षीय मुकेश श्रेष्ठ चिन्ताजनक अवस्थामा उपचार गराइरहेका छन् भने ४९ वर्षीया हस्तमाया धिमाल राई, ३० वर्षीया सावित्रा थापा र २९ वर्षीय आङ लाप्पा गम्भीर रहेका छन्।

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .