हङकङमा नेपालीहरुको लगानीमा अर्को एउटा क्याफे बार सञ्चालनमा आएको छ।
नेपालीहरुको घना बस्ती रहेको जोर्डनस्थित टेम्पल स्ट्रिटको भुँइ तलामा नेपालीहरुको लगानीमा ‘डे एन नाइट क्याफे बार’ सञ्चालनमा आएको हो।
करिब १५ लाख हङकङ (नेपाली रु २ करोड १० लाखभन्दा बढी) डलरको लगानीमा शुरु गरिएको उक्त क्याफे बारको बिहीबार बेलिकी ग्रान्ड ओपनिङ गरिएको हो।
उक्त क्याफे बारमा शेखर राई, जयमान राई र वीरेन लामाको संयुक्त लगानी रहेको छ। तिनै जना लगानीकर्ताहरु रेस्टुरेन्ट तथा बारमा लामो अनुभव भएको व्यक्तिहरु हुन्।
ग्रहाकहरुलाई छनौटको अवसर दिन आफूहरु नेपालीहरु बढी सञ्चालन गरेको र नेपालीहरु नै भएको क्षेत्र रोजेको लगानीकर्ता मध्येका एक शेखर राई बताउँछन्। एकै ठाउँमा घेरै रेस्टुरेन्ट र बार हुँदा प्रतिस्पर्धाभन्दा पनि ग्राहकहरुले छनौटको अवसर पाउछन्’, नेपाल खबरसँग कुरा गर्दै उनले भने, ‘जसले गर्दा सञ्चालकहरुले पनि गुणस्तरीय सेवाको वृद्दि गर्नुपर्ने हुँदा यसलाई सकारात्मक रुपमा लिनुपर्ने हुन्छ।’
शेखरका अनुसार उक्त क्षेत्रमा बसोबास गर्नेहरु धेरै जसो लान क्वाई फोङका बारहरुमा जाने गर्छन्। आफूहरुले जोर्डनमै त्यो किसिमको बार खोलेपछि ग्राहकहरुलाई त्यसको विकल्प हुन सक्ने उनको भनाइ छ। नेपालीहरुको बाक्लो बस्ती तथा प्रसिद्द नाइट मार्केटको नजिकै भएको हुँदा पर्यटकहरुलाई समेत सेवा गर्न पाइने प्राइम लोकेसन भएकोले पनि उक्त क्षेत्र रोजाइमा परेको उनको भनाइ छ।
नेपालीहरुको लगानीमा जोर्डन आसपास दर्जनौँ रेस्टुरेन्ट, फास्ट फुड तथा बारहरु सञ्चालित छन।
प्रतिक्रिया