कारबाहीमा परेका एनआरएन हङकङका कार्यसमिति सदस्य भेषमणि श्रेष्ठको पञ्जीकृत सदस्यता काममै राख्न अन्तर्राष्ट्रिय समन्वय परिषद्ले दिएको निर्देशन एनआरएन हङकङले अस्वीकार गरेको छ।
कार्य समिति सदस्यसहित पञ्जीकृत सदस्यताबाट समेत बर्खास्त गरिएका भेषमणि श्रेष्ठले आफूमाथि अन्याय भएको भन्दै गत जुलाई १४ मा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्मा निवेदन हालेका थिए। श्रेष्ठको निवेदनमाथि परिषदका महासचिव डा. बद्री केसी गत जुलाई १७ का दिन गैरआवासीय नेपाली संघ हङकङलाई पत्रमार्फत उनको बर्खास्ती अनुपयुक्त ठहर गर्दै पञ्जीकृत सदस्यता तत्काल कायम गर्न निर्देशन दिएका थिए। महासचिव पाण्डेले दिएको सदस्यता कायम नराखे संघले अनुबन्धन फिर्ता लिन सक्ने चेतावनीसहितको निर्देशनलाई एनआरएन हङकङले अस्वीकार गरेको हो।
बिहीबार साँझ जोर्डनस्थित कार्यलयमा संघका सल्लाहकार, भूपू अध्यक्षहरु, कार्यसमितिका पदाधिकारीहरु तथा आईसीसी सदस्यहरु सम्मिलित आपतकालीन बैठकले सर्वसम्मतिले उक्त निर्णय गरेको संघका प्रवक्ता ईन्द्र बनेमले बताएका छन्। श्रेष्ठ उपरको कारबाही म्यानमारमा भएको घटनाको कारण मात्र नभइ अन्य धेरै कारणसमेत रहेकोले त्यसको टुंगो लगाउन आईसीसी सदस्य कर्णेल मीन बहादुर गुरुङको संयोजकत्वमा समन्वय समितिसमेत गठन गरेको उनको भनाइ थियो। तथापी एनसीसी हङकङ, आईसीसी सदस्यसँग गहिरो छलफल, परामर्श नगरी, विधानलाई आफ्नै ढंगले व्याख्या गरी केन्द्रले हुकुमी शैलीमा निर्देशन देला भन्ने आपेक्षा नगरेको समेत बनेमले बताए।
कारबाहीमा परेका श्रेष्ठले पटक पटक गम्भीर गल्ती गरेको संयोजक गुरुङको भनाई छ। ‘भेषमणिले पटक पटक अपरिपक्क र गैर जिम्मेवारी क्रियाकलाप गरेकै हो। गल्ती गरेपछि माफी माग्नु पर्नेमा उल्टै अनेक थरी क्रियाकलाप गर्दै हिँडेका कारण स्थिति गम्भीर बन्दै गएको हो’, नेपालखबरसँग कुरा गर्दै संयोजक गुरुङले भने, ‘उनका गतिविधि चोरले पुलिसलाई उल्टै गाली धम्की दिए जस्तै भएको छ, तथापि मेरो संयोजकत्वमा बनेको टोलीले सकारात्मक समाधान खोज्ने प्रयत्न गर्नेछ।’
यता श्रेष्ठ भने एनआरएन हङकङले केन्द्रको निर्देशन पालना नगरेर ठूलो गल्ती गरेको प्रतिक्रिया दिएका छन्। एनआरएन हङकङको निर्णयप्रति रुष्ट भएका श्रेष्ठले चाँडै पत्रकार सम्मेलन गर्ने र विज्ञप्ति निकाल्ने बताएका छन्। उनले भने, ‘निर्देशनको अवज्ञा गरेको कारण केन्द्रले वर्तमान कार्यसमितिसँगको अनुबन्धन फिर्ता लिनेछ, त्यसपछि यो कार्यसमिती भंग भएको वा सो सरह हुनेछ’, उनले भने, ‘यसले आगामी अधिवेशन समेत अमान्य हुनेछ, जुन मेरो माग हो।’ सबै एनसीसीले केन्द्रको निर्देशन र अनुरोध पालना गर्नु कर्तव्य भएको उनको जिकिर छ।
एनआरएनए हङकङले आगामी जुलाई २८ मा सातौँ अधिवेशन गर्दैछ, जसका लागि शुक्रबार नै निर्वाचन आयोगले उम्मेदवारी प्रक्रियाको सूचना प्रकाशित गरी सकेको छ। जसअनुसार जुलाई २१ मा उम्मेदवारी दर्ता फाराम भर्ने, २२ तारिख उम्मेदवारी दावी बिरोध र २३ तारिख उम्मेदवारी नाम फिर्ता तथा उम्मेदवारी अन्तिम नामावली प्रकाशित गर्ने जनाएको छ।
Shares
प्रतिक्रिया