नेपाली महावाणिज्य दूतावास हङकङले नेपाल भ्रमण गर्ने पर्यटकहरुलाई लिँदै आएको प्रवेशाज्ञा (भिसा) शुल्कमा वृद्धि गरेको छ।
नेपाल पर्यटन वर्ष २०२० पूर्वसन्ध्यामा महावाणिज्य दूतवासले नेपाल प्रवेशाज्ञा शूल्कमा वृद्धि गरेको हो।
जस अनुसार १५, ३० र ९० दिने पर्यटकीय प्रवेशज्ञाको शुल्क क्रमशः हङकङ डलर २५०, ४०० र १००० तोकिएको तोकेको छ। यसअगाडि सो शुल्क २००, ३२० र ८०० हङकङ डलर रहेको थियो। नयाँ शुल्क यही जुलाई १७ बाट लागू हुने जनाइएको छ।
पर्यटन वर्ष नजिकिँदै गर्दा सरकारले पर्यटकलाई आकर्षण गर्न अझ सहुलियत दिनको सट्टा शुल्क अभिवृद्धि गर्नुले पर्यटन आगमनमा कस्तो प्रभाव पर्छ भन्ने बारेमा अहिले बहस सुरु भएको छ।
नेपालखबरसँग कुरा गर्दै महावाणिज्य दूतावासका कन्सुलर किरण गुरुङले यो आफूखुसी नभई नेपाल सरकारले बढाएको बताए। ‘यो हाम्रो तजबिजले बढाएको हैन, मन्त्रिपरिषदले पारित गरेर आएको सर्कुलर अनुसार हामीले स्थानीय डलरको सटही दर अनुसार तोकेका हौँ’, उनले भने, ‘जहाँसम्म यहाबाट नेपाल जाने पर्यटकहरु छन्, उनीहरु उच्च आय भएको हुँदा थोरै वृद्धिले खासै प्रभाव पर्दैन।’
उनले कार्यलय समयमा दैनिक १५–२० जना प्रवेशाज्ञाको लागी निवेदन दिनेहरु आउने गरेको बताए।
भिजिट नेपाल २०२० लाई सफल पार्न नेपाली महावाणिज्य दूतवास हङकङले बिभिन्न कार्यक्रम गर्दै आएको महावाणिज्यदूत कमलप्रसाद भट्टराईले बताए। नेपालका फिल्मी क्षेत्रका कलाकार र यहाँका स्थानीय ज्याकी चेनजस्ता कलाकारबीच कार्यक्रम गरेर पर्यटन प्रवर्द्धन गर्ने प्रारम्भिक कुराकानी भइरहेको रहेको तथा यो वर्षको अन्ततिर नेपालका पर्यटन मन्त्रीलाई हङकङ बोलाएर कार्यक्रम गर्ने सोच समेत रहेको भट्टराईले बताए।
नेपालमा हरेक वर्ष १० लाख विदेशी पर्यटकहरु नेपाल भ्रमण गर्ने गरेको छन् भने भिजिट नेपाल २०२० मा २० लाख पर्यटन भित्राउने सरकारको लक्ष्य रहेको छ।
प्रतिक्रिया