हङकङमा कोरोना भाइरस (कोभिड १९ ) को सम्भावित संक्रमण रोक्न एयरपोर्टमै स्वास्थ्य परीक्षण गरिने भएको छ।
सोमबार (भोलि)बाट अमेरिका र युरोपका उडानबाट हङकङ आएका सबै यात्रुहरूको एयरपोर्ट मै अनिवार्य स्वस्थ्य परीक्षण गरिने भएको हो।
यात्रुले सो स्वास्थ्य परीक्षणको रिपोर्ट नआउने बेलासम्म एयरपोर्टबाहिर निस्कनसमेत नपाउने व्यवस्था गरिएको त्यहाँका स्वास्थ्य अधिकारीले बताएका छन्।
ती स्वास्थ्य अधिकारीका अनुसार हङकङमा संक्रमणका अधिकांश केसहरु विदेशबाट आउनेहरुमा देखापरेपछि सो कदम चाल्नु परेको हो।
परीक्षणपश्चात नतिजा नेगेटिभ आए उनीहरुलाई १४ दिने सेल्फ होम क्वारेन्टाइनसहित घर जान अनुमति दिइने बताएका छन्। उक्त परीक्षण एयरपोर्टस्थित एसिया एक्स्पो भवनमा गरिने बताइएको छ।
बेलायतबाट आउनेहरुका हकमा भने गत बिहीबारबाटै उक्त नियम लागू गरिसकिएको आरटीएचकेले बताएको छ।
हङकङमा यो हप्ता तुलनात्मक रुपमा संक्रमण कम देखिएको छ। शनिबार ११ जनामा यो भाइरसको संक्रमण पोजेटिभ देखिउएको हो। जसमध्ये १० जना हालै विदेशबाट फर्किएका व्यक्तिहरु रहेको बताइएको छ। यो सँगै हङकङमा पुष्टि भएका संक्रमितको संख्या हजार पुगेको छ।
हङकङ सरकारले गत मार्च २३ मा सम्पूर्ण गैर–हङकङबासीहरुलाई अप्रिल ७ सम्म हङकङ प्रवेशमा रोक लगाएको थियो। पछि अप्रिल ६ मा पुनःअनिश्चितकालका लागि हङकङ प्रवेशमा रोक लगाएको थियो।
प्रतिक्रिया