हङकङमा चोरीको आरोपमा ५ जना नेपाली र १ जना पाकिस्तानी पक्राउ परेका छन्।
बिहीबार प्रहरीले बताए अनुसार पक्राउ पर्नेहरु १५ देखि ४८ बर्षका पुरुषहरु रहेका छन्।
उनीहरूले करिब एक महिनाअघि गत मार्च ३ मा युनलोङस्थित काउ युक रोडको एक गरगहना पसलमा हातहतियार सहित लुटपाट गरेको प्रहरीले जनाएको छ।
चोरीमा संलग्न हुने २ जनामध्ये एक जना फर्म २ र अर्को फर्म ३ का युनलोङकै विद्यालयका विद्यार्थी हुन्। अरु केही निर्माण क्षेत्रका कामदार र केही बेरोजगार रहेको बताइएको छ। पक्राउ पर्नेहरु सबै हङकङ आइडी कार्ड वाहक हुन्, जो कुनै गुण्डा समूहमा संलग्न छैनन्।
मार्च ३ को बिहान ११ बजे मास्क लगाएर चक्कु, हम्मर सहितका हतियार लिएर कारमा आएका उनीहरूले सुन पसल लुटेका थिए।
‘उनीहरूले हम्मरले सुन राखिएका केसहरू फुटाउनुअघि हतियार देखाएर पसलका स्टाफलाई तर्साएका थिए’, युनलोङका एक प्रहरी अधिकारीले भने।
ती प्रहरीका अनुसार उनीहरुले ६ लाख हङकङ डलर बराबरको गरगहना लुटेका थिए। लुटिएका गहनाहरु फिर्ता भएको छैन।
चोरीमा कति जना संलग्न थिए भन्ने पूर्ण विवरण पनि आइसकेको छैन। युनलोङ क्षेत्रमा नेपाली तथा पाकिस्तानीहरुको घनाबस्ती छ।
प्रतिक्रिया