भियतनामी सरकारले अबदेखि हङकङमा चामल निर्यात नगर्ने भएको छ। तर यहाँका आपूर्तिकर्ताले यसले स्थानीय उपभोक्तालाई खासै असर नपर्ने बताएका छन्।
यसअघि कूल आपूर्तिमध्ये ३० प्रतिशत चामल हङकङमा आपूर्ति गर्ने गरेको भियतनामी सरकार कोरोना भाइरसको महामारी फैलिँदै गएपछि निर्यात रोक्ने निर्णयमा पुगेको हो।
कोरोना महामारीका कारण आन्तरिक आपूर्ति पर्याप्त भए/नभएको जाँचबुझ भइरहेको जनाउँदै भियतनामले आफूलाई पर्याप्त भएपछि मात्र चामल हङकङ निर्यात गरिने बताएको छ।
भियतनामले हङकङका व्यापारीलाई नयाँ चामल निर्यात सम्झौतामा हस्ताक्षर नगर्ने जानकारी बुधबारै गराइसकेको छ।
तर हङकङका आपूर्तिकर्ताले भियतनामबाट आपूर्ति नभए पनि चामलको कुनै कमी नहुने भन्दै स्थानीय उपभोक्तालाई ढुक्क हुन आग्रह गरेका छन्।
हङकङका राईस मर्चेन्ट एसोसिएसनका नेता केनेथ चानले भियतनामले नयाँ निर्यात सम्झौता नगर्नुलाई ‘परम्परागत सावधानी उपाय’ नै भएको उल्लेख गर्दै यो छोटो अवधिका लागि मात्र रोकिने बताएका छन्।
चानले भने, ‘यस वर्ष भियतनामको फसल राम्रो छ। मैले स्रोतबाट सुनेअनुसार हानोईको चामल निर्यात कटौती गर्ने निर्णय फिर्ता लिइनेछ। मलाई लाग्छ, भियतनामी चामलको आपूर्तिमा फेरबदल हुने छैन।’
चामल आपूर्तिबारे चिन्ता नलिन आग्रह गर्दै उनले यहाँ (हङकङ) का कम्पनीसँग १ महिनाभन्दा बढी समयका लागि पुग्ने चामल स्टक भएको जानकारी पनि दिएका छन्।
गत महिना चामललगायत दैनिक उपभोग्य सामानको अभाव भएपछि चामलका ठेकेदारले थप स्टकको व्यवस्था गरेको उनको भनाइ छ।
‘भियतनामको कदमप्रति हामी चिन्तित हुन आवश्यक छैन। किनकि धेरैजसो चामल थाइल्यान्डबाट आउँछन् र थाई अधिकारीले सामान्य रूपमा आपूर्ति गर्ने वाचा गरेका छन्,’ चानले भने, ‘मलाई लाग्छ, थाइल्यान्डले हामीलाई आवश्यक परे थप आपूर्ति पनि गर्न सक्छ।’
हङकङ सरकारले पनि १५ दिन पुग्ने चामल रहेको जानकारी गराएको छ। व्यापार तथा उद्योग विभागको तथ्यांकअनुसार हङकङले यस वर्षको सुरूदेखि ८२ हजार टन चामल आयात गरेको छ। जसमध्ये आधाभन्दा बढी आपूर्ति थाइल्यान्डबाट भएको हो भने भियतनामबाट ३० प्रतिशत मात्र।
कुनै समय हङकङमा थाई चामलले प्रभुत्व जमाएको थियो। थाइल्यान्डले यहाँ ९० प्रतिशतसम्म चामल आपूर्ति गर्ने गर्थ्यो।
तर हालैका वर्षहमा भियतनामी चामल २० प्रतिशत सस्तो भएका कारण व्यापारीले बढी भियतनामी चामल भित्र्याउन थालेका हुन्।
कोरोना भाइरस संक्रमणका कारण केही समयअगाडि हङकङमा चामलको हाहाकार मच्चिएको थियो।
बिहीबार बिहान ६ बजेसम्मको तथ्यांकअनुसार भियतनाममा कोरोना भाइरसबाट १ सय ४८ जना संक्रमित भएका छन्।
प्रतिक्रिया