फेब्रुअरी १९ मा नेपाल जानु १ दिनअगाडि हामी परिवार हङकङको डिस्कभरीबेको एक मात्र शुद्ध भेगन ‘हेमिङ्स बे’ रेस्टुरेन्टमा खाना खान गएका थियौं। अक्सर फुर्सदमा सामाजिक सञ्जालमा यही ठाउँमा बरालिएको देखिरहँदा साथीभाइले ‘होइन, तपाईंलाई यो ठाउँ मात्रै किन मन पर्छ’ भनेर सोध्ने गर्छन्।
मलाई भने जहिल्यै वातावरणमैत्री यो ठाउँ पुग्दा बिनाभिसा पासपोर्ट वा हवाईजहाज नचढी कुनै युरोपियन देश पुगेको अनुभव हुन्छ। यो बस्ती हङकङका टापुमध्ये सबैभन्दा ठूलो लान्ताउ आइल्यान्डको दक्षिण-पूर्वमा छ। हङकङ सेन्ट्रलबाट २४सै घण्टा पानीजहाज वा सन्नीबे र तुङचुङबाट राति १ बजेसम्म बसबाट पुग्न र फर्किन सकिन्छ। बस्तीमा निजी गाडी राख्न पाइन्न। जतिसुकै धनीले पनि सार्वजनिक यातायात साइकल या पैदल हिँड्नुपर्छ, गन्तव्यमा पुग्न।
करिब २ मिलियन हङकङ डलर लाग्ने बिजुलीले चल्ने निजी गल्फ टेम्पु भने चलिरहेको देखिन्छ। जुन किन्न चाहनेले ५ देखि १० वर्षसम्म कुर्नुपर्छ। ब्रिटिस शासनकालमै सन् १९७३ मा स्थापित हङकङ रिसोर्ट कम्पनीले युरोपियन शैलीमा बनाएर बस्ती बसालेको यो ठाउँमा सबैभन्दा बढी युरोपियन र अमेरिकन बस्छन्।
बसबाट ओर्लिनेबित्तिकै मान्छेको चहलपहलमा सबै बिनामास्क देखेपछि रेस्टुरेन्टका मेनेजर भारतीय मूलका मेरा पूर्वसहकर्मीलाई सोधें– इदर लोग क्युँ बिनामास्क घुमरहे है?
उनले भने, ‘देखिए कमल भैया, चिनियाँ लोग किडे मकौडे, कुत्ता, बिल्ली, बानर सब खाते है। ए गोरे और हम लोग ऐसे नहीं खाते है, न इसिलए कोई डर नहीं।’
बारभित्र धारोबाट आसाही बियर सार्दै गरेकी अर्की नेपाली बहिनीले थपिन्, ‘आबुई कमल सर, यहाँ त मास्क लाएर हिँड्दा गोराहरूले घुरेर पो हेर्छन् त!’
म समीर भैयाको कुरामा सतप्रतिशत सहमत भने थिइनँ। बाहिर टेरेसको टेबलमा मास्क खोलेर बसियो र राति अबेरसम्म खाना खाएर फर्कियौं।
आज करिब डेढ महिनापछि कहानी अर्कै भएको छ। बिहानीको चिया पिउँदै बीबीसी, सीएनएन, अल जजिरा चहार्दै छु। सबै टेलिभिजनका प्रमुख समाचार कोरोनामय छन्। हिजोको दिनमा आफूलाई अजम्बरी भन्दै चीनलाई औंला ठड्याउनेहरू महामारीको भुमरीमा आत्तिएका छन्।
उता चीनले महामारीको उद्गमस्थल उहानलाई नजरबन्दमुक्त गरेर फेरि एकपटक चीन जस्तोसुकै विपत्तिको पनि सामना गर्न सक्षम छ भन्ने सन्देश विश्वलाई दिएको छ। इटाली र स्पेनमा चिकित्सक र औषधोपचार बोकेका चिनियाँ जहाज अवतरण गरेका छन्।
पछिल्लो समय कोभिड-१९ चिनियाँ भाइरस भनेर चर्को आलोचना खेपेका नश्लवादी डोनाल्ड ट्रम्प अहिले भाका फेर्दै ‘एसियन अमेरिकन फ्रेन्ड’ भनेर टाइको धुलो झार्दैछन्। हरेक भाषण र पत्रकार सम्मेलनमा हान्ने साँढेजस्ता देखिने यिनी दिनभरि जोतेर घर फर्किंदै गरेको गोरुजस्ता देखिन थालेका छन्, अचेल।
अर्थात् उनको दम्भ परिवर्तन भएको छ। न्युयोर्कका मेयर एन्ड्रयु कोमोले कोरोना अमेरिकामा बुलेट ट्रेनजत्तिकै फैलिइरहेको बताइरहँदा न्युयोर्कमा मात्रै २५ हजार नयाँ संक्रमण देखिएपछि ठूलो खतराको घण्टी बजेको छ।
एकपछि अर्को समाचार हेर्दै गर्दा कविवर लेखनाथ पौड्यालको कवितांश याद आयोः
‘राजा रंक सबै समान... आयो टप्प टिप्यो, लग्यो मिति पुग्यो टारेर टर्दैन न त्यो!’
हुन पनि ओस्कर विजेता हलिउड अभिनेता टम ह्यांक्स, उनकी पत्नी रीता विल्सन, क्यानेडियन प्रधानमन्त्री जस्टिन ट्रयुडोकी श्रीमती सोफी, इरानका स्वास्थ्यमन्त्री, अमेरिकी सिनेटर हुँदै बेलायतका राजकुमार चार्ल्ससमेत संक्रमणको सिकार भएका छन्। पछिल्लो समय। बेलायतकी महारानीलाई बकिङहम दरबारबाट अन्य अझै सुरक्षित दरबारमा स्थानान्तरण भएकी छन्।
पद, धन दौलत र विनासकारी हतियारको दम्भले पुरिएको स्वघोषित सबैभन्दा चेतनशील प्राणी मानिस आफ्नो वास्तविक औकातमा आएको छ। संसारभरमै डढेलो लागेको मानवता अब पलाउला कि भन्ने आशा जागेको छ।
आणविक बम, लामो तथा मध्यम दूरीका आणविक क्षेप्यास्त्र, सुपर सोनिक, एफ सिक्सटिन, एफ ट्वान्टी टु लडाकु विमान, समुद्रभित्र र बाहिर तैनाथ युद्धपोत अत्याधुनिक स्वचालित हतियार, अन्तरिक्षमा प्रक्षेपण गरिने रकेट सारा निकम्मा साबित भएका छन्, कोरोना भाइरसका अगाडि।
यस्तै कुरा मनमा खेलाउँदै गर्दा नेपालखबरका प्रधान सम्पादक मित्र पूर्ण बस्नेतको फोन आयो नेपालबाट– ‘के छ, हङकङको हालखबर? यौटा समसामयिक लेख लेखौं न।’
मैले हाँसो गरें, ‘समसामयिक लेख हैन, म त प्रत्यक्ष प्रसारण गर्न पनि तयार छु। मतलब, फुर्सदै फुर्सद छ।’
‘तपाईं सिन्धुलीमा जन्मनुभएको हैन?’
‘हो।’
‘कुन ठाउँमा?’
‘खुर्कोट नजिकै कालीमाटी।’
‘ए, अस्ति हामीले सिन्धुलीगढी जाँदा खाना खाएको, गाउँको खोलामा दुवाली छेकेर विष हालेर माछा मारेको देख्नुभएको छ?’
‘खासै छैन। म सानो छँदै बर्दिवास बसाइँ सरेको।’
‘ठीकै छ। ल सुन्नुस् मेरा कुरा उसोभए- मलाई त पटकपटक हाम्रो गाउँको कोल्पु खोलामा घटेरा दाइले दुवाली छेकेर विष हालेपछि उत्तानो परेर पानीमा तैरिएको असला माछाको झझल्को आयो हङकङ विमानस्थल हेर्दा।’
‘मतलब?’
‘विमानस्थलको पश्र्चीमपट्टि ठूलो एरियामा काम नपाएर पार्किङ गरिएका दर्जनौं जहाज असला माछाझैं टल्किएका छन्, बिहानको घाममा। हरेक दुई/तीन मिनेटमा अवतरण र उडान भर्ने संसारकै व्यस्त र उत्कृष्टमध्ये पर्ने विमानस्थल चकमन्न छ।
हङकङका सबैभन्दा धनीदेखि नाङ्लो पसलेसम्मको धन्दा चौपट छ। बेरोजगारी चुलिँदै छ। अरू देशले त कोरोनाबाट तङ्ग्रिनेबित्तिकै सन्तोषको सास फेर्लान्। तर यहाँ क्वारेन्टिन, मास्क, अस्पताल र औषधिले निको पार्न नसक्ने समस्या जिउँका तिउँ छन्।
कोरोनाबाट तङ्ग्रिनेबित्तिकै आन्दोलन सुरु हुने सम्भावना छ। चीन कुनै हालतमा पनि माग पूरा गर्न तयार होलाजस्तो लाग्दैन। संसारकै चर्चित व्यापारिक केन्द्रमा लगानीकर्ताको विश्वास गुम्दै छ। बस यस्तै छ, हङकङको हालखबर।’
यस्तै अन्य समसामयिक वार्तालाप भए।
झ्यालबाट बाहिर हेरें। बिहानदेखि दोहरी लत्तर समुद्र छचल्काउँदै हिँड्ने पानीजहाज देखिएका छैनन्। सियोजस्तो चुच्चो क्यास्टलपिक पहाडलाई बादलले छोपेको छ। त्यसको पल्लो छेउमा हङकङलाई बिजुली बाँड्ने चाइना लाइट एन्ड पावरका भट्टीका दुईवटा अग्ला टावर पनि आज व्रत बसेजस्तो छ। अर्थात् टुप्पोबाट धुँवा फालेका छैनन्। घरकै अगाडि भर्खरै बनेर सकिएको सेराटन होटल पनि चिन्तित मुद्रामा उभिएको भान हुन्छ।
फाट्टफुट्ट मालवाहक हवाईजहाज अल्छी मानेजस्तो गरेर उड्दै गरेको देखिन्छ। क्याथे प्यासिफिक र ड्रयागन क्याथेका भीमकाय हवाईजहाज आहारा पुगेपछि उग्राइरहेका गाईवस्तुझैं ह्याङ्गरमा मुख जोतेर फुर्सदिला देखिन्छन्। सबै टेलिभिजन फेरि समाचार दोहो¥याउँदै छन् उही ‘कोरोना, कोभिड नाइन्टीन।’
‘मर्ने कसैलाई रहर हुँदैन
तर नमरेको प्रहर हुँदैन
भागेर जाऊँ कुन ठाउँ जाऊँ
मान्छे नमर्ने सहर हुँदैन।’
कृष्णहरि बरालका शब्द, प्रेम परियारको स्वरको यो गीत आज हरेक पृथ्वीवासीको जीवनसँग हुबहु मिलेको छ।
प्रतिक्रिया