विश्वव्यापी महामारी बनेर फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोक्न नेपालले आइतबारदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द गराएपछि हङकङ-काठमाडौं उडान पनि स्वतः रोकिएको छ।
नेपाल सरकारले लगाएको प्रतिबन्धअनुसार यसअघि हप्तामा मंगलबार र शनिबार नियमित उडान भरिरहेको नेपाल एयरलाइन्सले हङकङ-काठमाडौं उडान बन्द गराएको हो।
गत शुक्रबार साँझ नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै विभिन्न प्रतिबन्ध लगाउने क्रममा यही मार्च २२ देखि मार्च ३१ सम्म सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने घोषणा गरेका थिए।
कन्ट्री म्यानेजर नवराज उपाध्यायले स्वास्थ्य नै धन भएको उल्ले गर्दै देशका प्रधानमन्त्रीले कोरोना भाइरस संक्रमणविरुद्ध लड्न गरेको आह्वानमा ऐक्यबद्धता जनाएर हङकङ-काठमाडौं हवाई सेवा अहिलेलाई बन्द गराइको नेपालखबरलाई जानकारी दिए। यस निर्णयले पूर्वनिर्धारित ३ उडान रद्द गरिने उनले बताए।
हङकङमा कोरोना प्रभावले रोजगार गुमाएर धमाधम नेपाल फर्कन टिकट लिइसकेका नेपाली यात्रु उडान रद्द भएपछि मारमा परेका छन्।
उनीहरूका गुनासा कसरी सम्बोधन गर्नु हुन्छ भन्ने नेपालखबको प्रश्नमा उपाध्यायले भने, ‘पहिलो कुरा त यात्रु शिक्षित छन्, जो परिस्थिति आकलन गर्न सक्छन्, जहाँसम्म टिकट लिइसकेका यात्रु छन्, उनीहरूलाई आफ्नो चाहनाअनुसार उडान व्यवस्था मिलाइदिनेछौं, साथै टिकट रद्द गर्न चाहनेलाई सतप्रतिशत रकम फिर्ता गरिदिनेछौं।’
नेपाल उडान रद्द भए पनि हङकङ कार्यालय भने यथावत् सञ्चालन हुने छन्। कोरोना भाइरसबाट जोगिख पूर्ण सुरुक्षासाथ अन्य देशमा उडान भइरहेको उपाध्यायले दाबी गरे।
हङकङबाट नेपाल जाँदा तथा नेपालबाट हङकङ आउँदा १४ दिने ‘सेल्फ क्वारिन्टिन’ बस्नुपर्ने नियम लागू गरिएको छ।
प्रतिक्रिया