इन्टरनेसनल इन्स्टिच्युट फर म्यानेजमेन्ट डेभलपमेन्ट (आईएमडी)द्वारा बिहीबार प्रकाशित वार्षिक विश्व प्रतिभा वरीयता (ग्लोबल ट्यालेन्ट र्याङ्किङ) २०२४ मा हङकङले नवौँ स्थान सुरक्षित गरेको छ।
गतवर्ष १६औँ स्थानमा रहेको हङकङ यसपटक ९औँ स्थानमा प्रवेश गर्दै शीर्ष १० भित्र पर्न सफल भएको हो। हङकङ शीर्ष १० मा ७ वर्षपछि फर्किएको हो। पछिल्लो पटक सन् २०१६ मा शीर्ष १० मा परेको थियो।
यसका साथै, विज्ञान र महिला श्रमशक्ति, वित्तीय सीप र कार्यशक्तिको व्यवस्थापन शिक्षा तथा तलब व्यवस्थापनमा हङकङ विश्वको शीर्ष ५ मा छ।
यद्यपि, श्रमशक्तिमा वृद्धि, शिक्षामा कुल सार्वजनिक खर्च र जीवनयापन लागत जस्ता क्षेत्रमा भने सहरको वरीयता कमजोर देखिएको छ।
यसैगरी सिंगापुरले विश्व वरीयताको एसिया प्रशान्त क्षेत्रमा पहिलो स्थान ओगटेको छ भने विश्व वरीयतामा दोस्रो स्थानमा छ।
विश्व वरीयताको पहिलो नम्बर स्विटजरल्यान्डले सुरक्षित गरेको छ। यसैगरी तेस्रोदेखि आठौँसम्म क्रमश: लक्जम्बर, स्वीडेन, डेनमार्क, आइसल्यान्ड, नर्वे र नेदरल्यान्ड्स छन्। दसौँ स्थानमा अस्ट्रेलिया रहेको छ।
यो अध्ययन स्विट्जरल्यान्डमा आधारित बिजनेस स्कूलले गरेको हो। (एजेन्सी)
Shares
प्रतिक्रिया