हङकङ : यो लोकप्रिय बार्बिक्यु चेन, जहाँ खाना खाएका ८ जना बिरामी

हङकङ : यो लोकप्रिय बार्बिक्यु चेन, जहाँ खाना खाएका ८ जना बिरामी

मङककस्थित मुवु बीबीक्यूमा खाना खाएका ८ जना बिरामी भएपछि सीएचपी र सीएफएसले अनुसन्धान गरिरहेका छन् (ह्यान्डआउट)


नेपालखबर
असार ११, २०८१ मंगलबार १५:३१, हङकङ

हङकङको मङककस्थित एक रेस्टुरेन्टमा खाना खाँदा आठ जना बिरामी परेपछि सेन्टर फर हेल्थ प्रोटेक्सन (सीएचपी) र सेन्टर फर फुड सेफ्टी (सीएफएस)ले अनुसन्धान थालेका छन्।

मुख्यभूमि चीनको प्रख्यात बार्बिक्यु चेन मुवु बीबीक्यूको मङककस्थित स्टोरमा फरक फरक दिन खाना खाएका उनीहरू समान लक्षणसहित बिरामी परेका थिए।

गत बुधबारदेखि शुक्रबार (१९-२१ जुन) सम्म मङकक स्टोरमा ग्रिल गरिएको ओइस्टर र लम्ब कबाब लगायतका खानेकुरा खाएपछि आठ जनामा समान लक्षण देखिएको हो। उनीहरूलाई नोरोभाइरस र साल्मोनेलाका कारण समस्या देखिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

फरक-फरक दिनका तीन वटा घटनालाई लिएर अहिले सीएचपीले अनुसन्धान अघि बढाएको छ।

जसअन्तर्गत १७ र ४८ वर्षका दुई जना महिलाले १९ जुनमा रेस्टुरेन्टमा खाना खाएको ३३ देखि ४८ घण्टाको बीचमा बान्ता हुने, पखाला लाग्ने र ज्वरो आएको थियो।

त्यस्तै, त्यसको भोलिपल्ट ३० देखि ४९ वर्षका दुई पुरुष र दुई महिलालाई पनि सोही रेस्टुरेन्टमा खाना खाएको ३३ देखि ५६ घण्टाको बीचमा यस्तै लक्षण देखापरेको थियो।

यसैगरी तेस्रो घटनामा, २१ जुनमा सोही रेस्टुरेन्टमा खाना खाएका २४ र २० वर्षका पुरुष र महिलालाई पनि ३४ देखि ३७ घण्टाको बीचमा उस्तै लक्षण देखापरेको थियो।

सेन्टर फर फुड सेफ्टी (सीएफएस)का अधिकारीले हिजो (२४ जुन) मा रेस्टुरेन्टको निरीक्षण गरी असर देखिएका खानेकुराको बिक्री वितरण नगर्न आदेश दिनुका साथै रेस्टुरेन्ट परिसरको पूर्ण सरसफाइ र कीटाणुरहित गर्न निर्देशन दिएको द स्ट्यान्डर्डले जनाएको छ।

मुवु बीबीक्यू लोकप्रिय बार्बिक्यू ब्रान्ड हो। मुख्यभूमि चीनको सेन्जेनमा सन् २००३ मा स्थापित यसको चीनका २० वटा सहरमा चार सयभन्दा बढी चेनस्टोर छन्।

किफायती मूल्यमा बार्बिक्यु र स्किवर प्रदान गर्ने परिचय बनाएको यसले अप्रिलमा मङकक र सेकतङ चोइ गरी हङकङमा दुई वटा स्टोर खोलेको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .