प्रहरीलाई हातपात गरेको आरोपमा दुई दक्षिण एसियाली पुरुष पक्राउ परेका छन्।
शुक्रबार बिहान नाउताउ ककमा झगडा भएको खबर पाएर गएको प्रहरीलाई उल्टै हातपात गरिएको हो।
बिहान १० बजेको आसपासमा नाउताउ ककको केन्टलम म्यानसन नजिकै चर्को झगडा भएको खबर पाएपछि प्रहरी त्यसतर्फ जाँदा उक्त घटना घटेको द स्ट्यान्डर्डले जनाएको छ।
दुई दक्षिण एसियाली पुरुष झगडा गरिरहेको अवस्थामा प्रहरी पुगेर रोक्न खोज्दा उल्टै उनीहरू प्रहरीमाथि नै जाइलागेका र मुक्का हानेका थिए।
सुरक्षाकर्मीमाथि नै आक्रमण भएपछि प्रहरीले थप बल बोलाएको थियो। त्यसपछि घटनास्थलमा कुकुरसहित थप चार आपत्कालीन एकाइका गाडी पुगेका थिए।
प्रहरीलाई हातपात गरेको आरोपमा दुवै जना पक्राउ परेका छन्। त्यस्तै, प्रहरीलाई अवरोध गरेको आरोपमा अर्का एक जनालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीमाथि जाइलाग्ने दक्षिण एसियाली पुरुषहरूको अन्य विवरण खुलाइएको छैन।
घटनामा एक प्रहरी अधिकारीको छातीमा चोट लागेको बताइएको छ।
Shares
प्रतिक्रिया