हङकङ प्रहरीमा भर्ना हुने पहिलो र दोस्रो नेपाली महिला एकै परिवारका दिदीबहिनी बनेका छन्।
यसअघि दुई हप्ता पहिले मीरा पुन मगर हङकङ प्रहरीमा भर्ना भएकी थिइन्। उनी यस सेवामा प्रवेश गर्ने पहिलो नेपाली महिला हुन्।
यसपछि फेरि शनिबार (२७ अप्रिल)मा उनकी बहिनी अलिना पुन मगर पनि हङकङ प्रहरीमा भर्ना भएकी छन्।
हङकङ प्रहरीमा नेपालीहरू यसअघिदेखि नै रहेका भए पनि महिलाको प्रवेश भने पहिलो पटक हो। जसमा नेपालको म्याग्दी पुख्र्यौली भएका हङकङका यी दुई चेलीले डेब्यु गरेका छन्। उनीहरूको पुख्र्यौली थलो नेपालमा अन्नपूर्ण गाउँपालिका–५, पाउदुआरसिख हो।
उनीहरू नेपालीको बाक्लो बसोबास रहेको याउचिमोङ, युनलोङ क्षेत्रमा हङकङ प्रहरीले सञ्चालन गरेको ‘हिमालय प्रोजेक्ट’ अन्तर्गत प्रहरी तालिम पूरा गरी प्रहरीमा भर्ना भएकी हुन्।
उनीहरूका अभिभावक लामो समयदेखि हङकङमा बसोबास गर्दै आएका छन्।
मीराले दिदीबहिनी नै प्रहरी सेवामा प्रवेश गर्न सफल भएको पहिलो श्रेय बाबु काशी र आमा कमलालाई दिएकी छन्।
बहिनी पनि सेवामा प्रवेश गरेपछि तीन दिनअघि उनले फेसबुकमा स्ट्याटस लेख्दै भनेकी छन्, ‘कहिल्यै हार नमान्न प्रोत्साहन दिने आमाबुबा हाम्रा नायक हुनुहुन्छ।’
‘हामी सानै छँदादेखि मेरा आमाबुबाले आफ्ना छोरीहरू हङकङ प्रहरी बनुन् भन्ने सपना देख्नुभएको थियो,’ मीरा लेख्छिन्, ‘आमाबुबाको कारणले नै हामी हङकङ प्रहरीमा पहिलो नेपाली महिलाका रूपमा यहाँ छौँ। मलाई विश्वास छ कि हामीले आमाबुबाको सपना पूरा गरेका छौँ।’
यस्तै, सेवा प्रवेशको दोस्रो श्रेय उनले आफ्नो श्रीमान्लाई दिएकी छन्।
‘हङकङ प्रहरीको हैसियतमा हाम्रो जिम्मेवारी र बर्दीले हङकङ–चीनको प्रतिनिधित्व गरिरहेको छ,’ मीरा थप्छिन्, ‘तर, हाम्रो रगत नेपाली हो भनेर हामीले भुल्ने छैनौँ। हामीले हङकङका नेपाली समुदायलाई गौरवान्वित बनाइरहेका छौँ। यो आशीर्वादलाई हङकङ–चीनको सेवाका साथै जातीय अल्पसंख्यक र नेपाली समाजको सेवामा समर्पित भएर कदर गर्नेछौँ।’
प्रहरीले अल्पसंख्यक समुदाय लक्षित गरी ‘हिमालय प्रोजेक्ट’ सञ्चालन गर्दै आएको छ। जसअन्तर्गत निस्शुल्क चिनियाँ भाषा कक्षा, फिटनेस कक्षासहित स्थानीय समुदायसँग घुलमिल हुन सिकाइन्छ। यो परियोजना हङकङ प्रहरीमा भर्नाका लागि तालिम दिने उद्देश्यले चलाइएको हो।
करिब ३५ हजारको संख्यामा रहेको हङकङ प्रहरीमा यसअघि नै केही नेपाल कार्यरत छन्।
Shares
प्रतिक्रिया