हङकङमा यस वर्ष फ्लुबाट तेस्रो बालिकाको मृत्यु भएपछि स्वास्थ्य अधिकारीहरूले श्वासप्रश्वास सम्बन्धी रोगको थप प्रकोप आउने चेतावनी दिएका छन्।
स्वास्थ्य संरक्षण केन्द्र (सेन्टर फर हेल्थ प्रोटेक्सन)ले मंगलबार सार्वजनिक अपिलमार्फत फ्लु र कोभिड–१९ का साथै अन्य श्वासप्रश्वास सम्बन्धी संक्रमणहरू उच्च स्तरमा रहेको भन्दै सबैलाई खोप लगाउन आग्रह गरेको हो।
हङकङमा फ्लुका कारण गएको दुई हप्तामा ८ र ६ वर्षका दुई बालिकाको मृत्यु भएको थियो भने पछिल्लो पटक फेरि अर्की ४ बालिकाको पनि मृत्यु भएको हो।
पछिल्लो पटक मृत्यु भएकी ४ वर्षीया बालिका र यसअघि ज्यान गुमाएकी ४ वर्षीया बालिकालाई खोप नलगाइएको बुझिएको छ।
सरकारी तथ्यांकअनुसार हङकङमा अप्रिल ७ देखि १७ सम्म ३६ जना वयस्कको फ्लुबाट मृत्यु भएको छ।
केन्द्रको सरुवा रोग शाखाका वरिष्ठ चिकित्सा तथा स्वास्थ्य अधिकारी डा. वोङ होइ-केइले खोप सुरक्षित र प्रभावकारी भएकोले अहिलेसम्म खोप नलगाएकाहरूले खोप लगाउनुपर्ने बताए।
घरमै बस्ने करिब २० प्रतिशत जनसंख्या जसमा झन्डै आधा बालबालिका र ६५ वर्ष माथिका वृद्धवृद्धा अझै पनि खोपको दायरामा आउन नसकेको होइले बताए।
पछिल्लो पटक निधन भएकी ४ वर्षीया बालिकालाई गत बिहीबार सुरुमा घाँटी दुख्नुका साथै ज्वरो आएको थियो। उनलाई अर्को दिन निजी अस्पतालमा भर्ना गरियो।
अवस्था गम्भीर बन्दै गएपछि उनलाई शनिबार चाइवानको पामेला युडे नेदरसोल पूर्वी अस्पतालमा सघन हेरचाह इकाइमा सारियो।
तर, उनको अवस्था झन् बिग्रँदै गयो र सोमबार मृत्यु भयो।
स्वास्थ्य विज्ञहरूले खोपको दर कम हुँदा फ्लुको सिजन लम्बिन सक्ने यसअघि नै चेतावनी दिएका थिए। एससीएमपीबाट
Shares
प्रतिक्रिया