हङकङका विपन्न परिवारलाई सहयोग गर्नका लागि ७२ करोड हङकङ डलरको परोपकारी परियोजना अघि सारिएको छ।
हङकङ जकी क्लबको आर्थिक सहयोगमा अघि बढाइएको यो कार्यक्रम विभिन्न व्यावसायिक तथा गैरसरकारी गरी १८ संस्थासँगको साझेदारीमा अघि बढ्नेछ। कार्यक्रममा २५ वटा संक्रमणकालीन आवास क्षेत्र समेटिनेछन्।
हङकङमा संक्रमणकालीन आवास भन्नाले स्थायी फ्ल्याटका लागि पर्खिरहेका व्यक्ति वा परिवारको लागि अस्थायी रूपमा तयार गरिएको आवास प्रावधान हो।
कार्यक्रमले यहाँका लगभग १४ हजार विपन्न परिवारलाई पाँच वर्षसम्म आर्थिक सहयोग, सामाजिक सेवामा पहुँच तथा करिअर विकासका लागि उचित सल्लाह जस्ता सेवा प्रदान गर्नेछ।
शनिबार एक औपचारिक कार्यक्रममा बोल्दै राजनीतिज्ञ तथा हङकङ प्रशासनका मुख्य सचिव एरिक चानले न्यून आय भएका परिवारलाई सहयोग गर्नुको महत्वबारे प्रकाश पारे।
‘कार्यक्रमले गरिबी उन्मुलन मोडल स्थापना गर्ने लक्ष्य राखेको छ,’ सचिव चानले भने, ‘संक्रमणकालीन आवासमा बसोबास गर्ने गरिब परिवारलाई उनीहरूको जीवनस्तर सुधार गर्न मद्दत पुर्याउनु कार्यक्रमको मूल ध्येय हो।’
डिसेम्बर २०२३ सम्मको सरकारी आँकडाअनुसार सार्वजनिक भाडा आवासका लागि सामान्य आवेदकको औसत प्रतीक्षा समय ५.८ वर्ष रहेको छ।
कार्यक्रमको सल्लाहकार समितिका संयोजक क्लेमेन्ट चेङले पाँच वर्षको दौरानमा सफलता हासिल भएमा यो पहललाई सहरभर फैलाउन मद्दत पुग्ने आशा व्यक्त गरे।
‘यो एकदम नयाँ प्रयास हो,’ संयोजक चेङले भने, ‘हामीले कृषिमा आधारित समुदायबाट गरिबी निवारणको प्रभावकारी उपाय अवलम्बन गरेका छौँ।’
कार्यक्रममार्फत विपन्न परिवारलाई आर्थिक सहयोग तथा आयआर्जनमा टेवा पुग्ने ज्ञान र सीप उपलब्ध गराउने कुरामा जोड दिइने उनले बताए।
ग्रामीण क्षेत्रका परिवारको जिविकोपार्जनमा सुधार ल्याउन उनीहरूलाई कृषि प्रविधिको शिक्षा दिइने संयोजक चेङ बताउँछन्।
मानिसहरूलाई वचत कसरी गर्ने जस्ता वित्तीय साक्षरता पनि सिकाइनेछ।
यी लगायत कार्यक्रमले समेट्ने अन्य शीर्षकमा विपन्न परिवारलाई सहयोग गरिनेछ। जसमा परिवारको आकार अनुसार प्रतिपरिवार १० हजारदेखि २० हजार हङकङ डलर छुट्याइने साउथ चाइना मर्निङ पोस्टमा उल्लेख छ।
Shares
प्रतिक्रिया