करिब ५८० घरपरिवार रहेको हङकङको एक सुकुम्बासी बस्तीलाई यो वर्ष त्यहाँबाट हटाइने भएको छ। जहाँ सरकारले २७ सय सार्वजनिक फ्ल्याट निर्माण गर्नेछ।
विकास ब्युरोले शुक्रबार बताएअनुसार नयाँ आवास निर्माणका लागि ठाउँ खाली गर्न वोङताइ सिनको ङाउचि वानका करिब ९५० संचरना भत्काइनेछन्।
यसबाट त्यहाँ बसोबास गर्ने ९ सय व्यक्तिसहित ५८० घरपरिवार र ३० व्यवसाय प्रभावित हुने अनुमान गरिएको छ।
खाली गर्न लागिएको स्थानमा २.२ हेक्टर जग्गा रहेको छ।
सरकारले गत फेब्रुअरीमा त्यहाँका बासिन्दा तथा व्यवसायीलाई वर्षको मध्यसम्ममा ठाउँ खाली गर्न सूचित गरेको थियो।
विकास ब्युरोले उल्लेख गरेअनुसार सरकारी मुआब्जा स्वीकार गर्ने जग्गाधनीलाई भूमि विभागले नगद क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था गरेको छ। योग्य घरपरिवार सार्वजनिक भाडाको फ्ल्याट वा रिहाउजिङ स्टेटमा जान सक्ने ब्युरोका अधिकारीले बताए।
ङाउचि वान हङकङमा बाँकी रहेका केही सहरी सुकुम्बासी गाउँमध्ये एक हो। यसलाई सन् २०१९ मा काउलुनका दुई समान साइटहरूसँगै पुनर्विकासका लागि पहिचान गरिएको थियो।
ब्युरोले उक्त स्थानमा दुई चरणमा साइट निर्माण तथा पूर्वाधार निर्माणका लागि करिब १० करोड ६३ लाख हङकङ डलर आवश्यक पर्ने बताएको छ।
जम्मा बन्ने २७ सय फ्ल्याटमध्ये सन् २०३१ को अन्त्यसम्ममा पहिलो चरणका १२ सय फ्ल्याट तयार हुनेछन् भने बाँकी त्यसको दुई वर्षपछि पूरा हुने ब्युरोलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
Shares
प्रतिक्रिया