हङकङको मङककस्थित एक आवासीय भवनमा शुक्रबार बिहान आगलागी भयो।
आगलागीका कारण सात जना घाइते भए। जसमध्ये ६ जना गम्भीर घाइते भएका छन् भने एकको स्थिति चिन्ताजनक रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
बिहान करिब ६ बजे मङककमा रहेको चेउङ फाइ म्यान्सन भवनको १०औँ तला आगलागी भएको हो।
आगलागीमा ३ पुरुष, ३ महिला र एक १७ महिनाको बच्चा फसेका थिए। उनीहरूलाई अग्निनियन्त्रकले उद्धार गरी क्वोङ वाह र क्विन एलिजाबेथ हस्पिटल लगेका थिए।
अग्निनियन्त्रकहरूलाई आगो नियन्त्रणमा ल्याउन आधा घण्टाभन्दा बढी समय लागेको थियो।
आगलागीका कारण भवनमा बसोबास गर्ने करिब १७० जनालाई भवनबाट बाहिर निकालिएको थियो।
पुरानो यस भवनमा ‘फायर अलार्म’ नबज्दा बढी क्षति भएको आशंका गरिएको छ।
पत्रकारहरूको प्रश्नको जवाफमा सिनियर स्टेसन अफिसर एसजी-टु वाङपानले भवनमा फायर अलार्म नबजेको बताए।
‘भवनमा फायर सेफ्टीको मर्मत–सम्भार चलिरहेको छ। यसकारणले सम्भवतः फायर अलार्म बजेन,’ स्टेसन अफिसर एसजीको जवाफ छ, ‘अर्कोतर्फ आगोको तापका कारण अलार्म प्रणालीको केबललाई असर गरेको पनि हुन सक्छ।’
आगो बैठक कोठामा सबैभन्दा तीव्र रूपमा फैलिएको थियो। बैठक कोठामा भएका विद्युतीय उपकरणहरूमा सल्किएको आगो अन्यतिर फैलिएको थियो।
आगलागीका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
Shares
प्रतिक्रिया