विश्वविजेता अर्जेन्टिनाका फुटबल स्टार तथा अमरिकी क्लब इन्टर मियामीका सदस्य लियोनल मेस्सीको हङकङ विवाद अझै अन्त्य हुन सकेको छैन।
फेब्रुअरी ४ मा मेस्सी अनुबन्धित इन्टर मियामी र स्थानीय क्लब हङकङ इलेभेनबीच भएको खेलमा मेस्सी पूरै समय बेन्चमा रहेपछि उत्पन्न भएको विवादले कुनै न कुनै रूपमा स्थान लिइरहेको छ।
यसैबीच आयोजक संस्था ट्याटलरले मेस्सी नखेल्नेबारे आफूहरूलाई खेल सुरु हुनुभन्दा १५ मिनेटअघि मात्र थाहा भएको बताएको छ।
ट्याटलरका अध्यक्ष मिसेल लामुनियरले बिहीबार एक स्पोर्टस् मिडिया आउटलाई उक्त कुरा बताएपछि फेरि उक्त कुराले चर्चा पाएको हो।
जबकि यसअघि उनले आफूलाई मेस्सी दोस्रो हाफमा खेल्न नसक्ने बारेमा मात्र जानकारी गराइएको बताएका थिए।
अध्यक्षले फरक फरक अभिव्यक्ति दिएपछि मेस्सी पूरै समय नखेल्नेबारे आयोजकलाई कहिले सूचित गरिएको थियो भन्ने विषयले स्थान पाएको छ।
मेस्सीले हङकङमा नेखेलेकोमा व्यापक विरोध भएपछि आयोजकले आधिकारिक तवरले बिक्री भएका टिकटको ५० प्रतिशत रकम फिर्ता दिने घोषणा यसअघि नै गरिसकेको छ।
त्यस्तै, यही विवादका कारण मेस्सीको चीनमा हुने भनिएको दुई खेल समेत रद्द भइसकेका छन्।
Shares
प्रतिक्रिया