ऋणमा डुबेको चिनियाँ घरजग्गासम्बन्धी कम्पनी एभरग्रान्डलाई हङकङको एक अदालतले खारेज गर्न आदेश दिएको छ।
कम्पनीले आफ्नो ऋणको पुनर्संरचनाको योजनाअनुसार अघि बढ्न नसकेपछि न्यायाधीश लिन्डा चानले यस्तो आदेश जारी गरेको बीबीसीले जनाएको छ।
चीनको घरजग्गा संकटमा यो कम्पनीले पनि भूमिका खेलेको छ। यसको ऋण मात्रै ३ खर्ब अमेरिकी डलरभन्दा धेरै छ।
दुई वर्षअघि कम्पनी ऋणमा डुबेको थियो। त्यसले विश्व वित्तीय बजारमा हलचल ल्याएको थियो।
कमपनीका कार्यकारी निर्देशक सन स्युले अदालतको उक्त आदेशप्रति दुःख व्यक्त गर्दै मूलभूमि चीनमा कम्पनीको व्यवसाय यथावत् सञ्चालन हुने बताए।
हङकङमा रहेको कम्पनीको सहायक कम्पनी स्वतन्त्र कम्पनी रहेको स्युले एक वक्तव्यमा उल्लेख गरेका छन्। आदेशबाट पर्न सक्ने असर स्पष्ट नभए पनि कम्पनीले यसअघि नै नयाँ घर किनेका मानिसलाई उपलब्ध गराउन सकेको छैन।
अदालतको आदेशले चिनियाँ वित्तीय बजारलाई समेत असर पार्न सक्नेछ। अहिले चिनियाँ अधिकारीहरूले सेयरबजारमा समेत सेयर बिक्रीमा अंकुश लगाइरहेका छन्।
चीनको घरजग्गा क्षेत्रले उसको अर्थतन्त्रलाई एक चौथाइ मात्र योगदान गर्छ। सोमबार आदेश आएसँगै एभरग्रान्डको सेयर २० प्रतिशतभन्दा बढीले घटेको छ। योसँगै किनबेच रद्द भएको छ।
के हो लिक्विडेसन?
अदालतले लिक्विडेसनमा लैजान आदेश दिएको छ। यो भनेको एउटा कम्पनीको सम्पत्ति (जायजेथा) नियन्त्रणमा लिएर बिक्री गरिने प्रक्रिया हो। त्यसबाट प्राप्त रकम यसको ऋण तिर्न उपयोग गरिन्छ।
Shares
प्रतिक्रिया