संयुक्त राज्य अमेरिकाबाट आएका एक व्यक्तिलाई हङकङ भन्सारले शरीरभित्र लुकाएर ल्याएको कोकिनसहित पक्राउ गरेको छ।
शनिबार न्युयोर्कबाट आएका ३० वर्षीय व्यक्ति हङकङ भन्सारको चेकजाँचका क्रममा शंकास्पद देखिएपछि उनलाई परीक्षणका लागि अस्पताल लगिएको थियो।
भन्सार विभागका अनुसार अस्पतालमा ती व्यक्तिको शरीर परीक्षणका क्रममा केही चिज रहेको देखिएको थियो।
त्यसपछि उनको शरीरबाट ११६ गोली कोकिन निकालिएको सम्बन्धित अधिकारीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यममा उल्लेख छ।
उक्त कोकिनको तौल झन्डै डेढ किलो (१.३ किलोग्राम) भएको अधिकारीहरूले बताएका छन्।
आइतबार अस्पतालबाट डिस्चार्ज भएपछि संदिग्धलाई प्रहरीले पक्राउ गरेको छ। हाल उनी खतरनाक लागूऔषध तस्करीको आरोपमा प्रहरीको हिरासतमा छन्।
यो मुद्दालाई वेस्ट काउलुन कोर्टमा लगिने प्रहरीले बताएको छ।
उनीमाथि लागेको आरोप पुष्टि भएमा अधिकतम पाँच मिलियन हङकङ डलर जरिवाना र आजीवन काराबास सजाय हुने कानुनी व्यवस्था रहेको छ।
Shares
प्रतिक्रिया