बालबालिकाको अश्लील भिडिओ बनाएको आरोपमा हङकङ प्रहरीले आठ वयस्क र एक किशोर गरी ९ जनालाई पक्राउ गरेको छ।
उनीहरूलाई पक्राउ गर्ने क्रममा प्रहरीले झन्डै एक हजार बालअश्लील भिडिओ र तस्बिरहरू पनि जफत गरेको छ।
प्रहरीको एक्टिङ सुपरिटेन्डेन्ट बोन नानलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार बरामद सामग्रीमा १९० बालदुर्व्यवहारका भिडिओ र ७३८ तस्बिर लगायत छन्।
यी भिडिओ र तस्बिर क्लाउडमा समेत अपलोड गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरू १५ देखि ३९ वर्ष उमेर समूहका छन्। उनीहरूलाई बाल पोर्नोग्राफीको उत्पादन, वितरणका साथै अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएको हो।
पक्राउ परेकामध्ये १५ वर्षे किशोरले बनाएका २३ भिडिओ क्लिपमा उनले गोप्य रूपमा आफ्नै बहिनीको नग्न भिडिओ रेकर्ड गरेको भेटिएको प्रहरीले जनाएको छ।
भिडिओ लिँदा किशोर १३ वर्षको रहेको र उनकी बहिनी ९ वर्षकी थिइन्।
अर्को २८ वर्षीय ल्याब असिस्टेन्टको कम्प्युटरबाट प्रहरीले ६ वटा बाल पोर्नोग्राफी भिडिओ र ३९ वटा तस्बिर बरामद गरेको छ। यीमध्ये २४ तस्बिर उनको बहिनीका थिए। जुन तस्बिर उनले ४ वर्षअघि बहिनी १० वर्षको हुँदा गोप्य रूपमा खिचेका थिए।
साथै, उनको कम्प्युटरमा भेटिएका अन्य तस्बिर र भिडिओ इन्टरनेटबाट डाउनलोड गरिएको आशंका प्रहरीले गरेको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पक्राउ परेका व्यक्तिहरूको एकअर्कासँग कुनै सम्बन्ध छैन।
हङकङ तथा विदेशमा रहेका विभिन्न गुप्तचर संस्थाको सहयोगमा प्रहरी यी व्यक्तिसमक्ष पुगेको थियो।
आफ्नै परिवारका सदस्यबाट बालबालिका यौनहिंसामा पर्ने गरेको देखिएपछि प्रहरीले अभिभावकलाई सजग रहन आग्रह गरेको छ।
प्रहरीको पारिवारिक द्वन्द्व तथा यौनहिंसा नीति इकाइकी वरिष्ठ निरीक्षक सारा चानले बालबालिकाको हितमा ध्यान दिन सर्वसाधारणलाई अपिल गरिन्।
‘पुलिसको खुफियातन्त्रको मात्र भर पर्नु पर्याप्त छैन। किनभने पीडितहरूले आफ्नै परिवारका सदस्यबाट दुर्व्यवहार भइरहेको छ भनेर महसुस नगर्न सक्छन्,’ चानलाई उद्धृत गर्दै समाचारमा लेखिएको छ।
Shares
प्रतिक्रिया