हङकङमा फेब्रुअरी ८ मा हुन लागेको क्युनेट गोर्खा ट्रैलब्लेजर प्रतियोगिता स्थगित भएको छ।
मंगलबार ३९ वर्षीय एक जना पुरुषको कोरोना भाइरसको कारण मृत्यु भएपछि हङकङमा सन्त्रास बढेको थियो। त्यसलगत्तै कोरोना भाइरसबाट संक्रमित ३ जना फेला परेपछि स्वास्थ्य अधिकारीहरूले स्थानीय समुदायमा प्रकोपको जोखिम बढ्ने आशंका गरेका थिए।
कोरोना भाइरसको संक्रमण बढ्ने संकेत देखिएपछि हङकङमा ८ फेब्रुअरीमा आयोजना हुने क्युनेट गोर्खा ट्रैलब्लेजर प्रतियोगिता अनिश्चित कालका लागि स्थगित गरिएको आयोजकले जनाएका हुन्।
प्रतियोगिता आयोजना गर्ने समूहका संयोजक आमोद राईले करिब ३५० धावक धाविकाहरुले प्रतियोगिताको लागि नाम दर्ता गराए पनि कोरोना भाइरस महामारीको कारण शुन्य समयमा स्थगित गर्न बाध्य भएको बताए।
‘निकै मेहनतका साथ अन्तिम तयारीमा आइपुग्दा प्रतियोगिता अनिश्चित कालका लागि स्थगित गर्न हामी बाध्य भयौं’, राईले नेपालखबरसँग भने, ‘सरकारी वा गैरसरकारी निकायहरुले गर्न लागेका यस्ता किसिमका कार्यक्रमहरु धमाधम रद्द भैरहेका बेला हामीले पनि जोखिम उठाउन चाहेनौं।’
व्यक्तिगत सुरक्षा र स्वस्थ्यलाई प्राथमिकतामा राखेर यो निर्णय लिइएको राईले बताए।
‘अहिले स्थानीय मानिसमा यो भाइरस सर्न थालेको देखिएपछि समस्या थप जटिल बनेको छ’, उनले भने, ‘सम्पूर्ण सहभागीहरुलाई इमेल मार्फत स्थगित भएको जानकारी गराउने छौं।’
राईले अहिलेको अवस्थामा सुधार हुनासाथ प्रतियोगिता आयोजना गर्ने बताए।
विश्वशान्ति स्थापनार्थ विभिन्न युद्धमा ज्यान गुमाएका गोर्खाहरुको सम्झना र सम्मानमा सन् २०१८ देखि गोर्खा सेमेटरि ट्रस्ट र चाइल्ड वेल्फेर स्किमको संयुक्त आयोजनामा हरेक वर्ष गोर्खा ट्रेलब्लेजर प्रतियोगिता आयोजना हुँदै आएको छ।
गोर्खा ट्रेलब्लेजरको प्रभावले गर्दा हङकङमा अहिले दर्जनौं ट्रैल रनरहरु उत्पादन भइरहेका छन्।
Shares
प्रतिक्रिया