सोमबार हङकङको न्यु टेरिटोरिज, ल्यान्डफिल साइटमा भएको दुर्घटनामा एक कामदारको मृत्यु भएपछि जोखिम न्यूनीकरणका उपाय अपनाइएको छ भन्ने सुनिश्चित नभएसम्म गार्बेज टिपरको प्रयोग नगर्न ठेकेदारलाई निर्देशन दिइएको छ।
क्रिसमसका दिन (हिजो) उक्त औद्योगिक क्षेत्रमा गार्बेज टिपरको ठक्करबाट कामदारको मृत्यु भएको थियो।
‘श्रम विभागले उक्त घटनालाई दुःखद् र चिन्ताजनक भएको बताउँदै जोखिम न्यूनीकरण गर्ने उपाय अवलम्बन गरिएको छ भन्ने कुरामा विभाग विश्वस्त नभएसम्म ठेकेदारले रिफ्युज टिपरको प्रयोग पुनः सुरु गर्न सक्दैन,’ स्थानीय सञ्चारमाध्यम एससीएमपीमा उल्लेख छ।
त्यस्तै, विभागका प्रवक्ताको भनाइ छ, ‘दुर्घटनाको जानकारी पाएलगत्तै हामीले घटनास्थलमा तत्काल अनुसन्धान थालेका छौँ र रिफ्युज टिपरको प्रयोगलाई निलम्बन गर्दै सम्बन्धित ठेकेदारलाई निलम्बन सूचना जारी गरेका छौँ।’
सोमबारको घटनामा परी मृत्यु हुने व्यक्ति ल्यान्डफिल साइटमा नर्थ वेस्ट न्यु टेरिटोरिज ट्रान्सफर स्टेसन सञ्चालन गर्ने ठेकेदारका कर्मचारी हुन्।
‘हामी दुर्घटनाको कारण पहिचान गर्न, दुर्घटनाका बखत ड्युटीका जिम्मेवार व्यक्तिको दायित्व पत्ता लगाउन र सुधारका उपाय सिफारिस गर्न सकेसम्म चाँडो अनुसन्धान पूरा गर्नेछौँ,’ विभागका प्रवक्ताले मंगलबार भने।
उनले सुरक्षा नियम उल्लंघन भएको पाइएमा कारबाही गरिने पनि बताए।
व्यावसायिक सुरक्षा र स्वास्थ्य अध्यादेशको सामान्य प्रावधानअनुसार पनि रोजगारदाताले आफ्ना कर्मचारीलाई सुरक्षित काम गर्ने वातावरण उपलब्ध गराउनु आवश्यक रहेको विभागका अधिकारीको भनाइ छ।
साथै विभागले रोजगारदातालाई सुरक्षित कार्यस्थल उपलब्ध गराउन आग्रह गरेको छ भने कर्मचारीलाई पनि सबै सुरक्षा उपाय अपनाउन तथा आफू र अरूलाई जोगाउन व्यक्तिगत सुरक्षा उपकरण सही रूपमा प्रयोग गर्न आह्वान गरेको छ।
यसका साथै, वातावरण संरक्षण विभागले उक्त दुर्घटनाको छानबिनमा श्रम विभागलाई पूर्ण सहयोग गरी पाँच दिनभित्र प्रतिवेदन बुझाउन ठेकेदारलाई निर्देशन दिएको छ।
साथै, ठेकेदारलाई मृतकका परिवारलाई आकस्मिक क्षतिपूर्ति दिन भनिएको छ।
Shares
प्रतिक्रिया