हङकङमा हुन लागेको प्रतिष्ठित अल्ट्रा ट्रेल रन ‘यूटीएमबी ट्रान्स लान्ताउ’मा भाग लिन चार नेपाली महिला धावक हङकङ आइपुगेका छन्।
जसमध्ये सुनमाया बुढा, पदमकुमारी सुनुवार र सविना राई ५० किलोमिटरतर्फ र अनिता राई १०० किलोमिटरतर्फ प्रतिस्पर्धा गर्दैछन्। त्यस्तै, हङकङनिवासी दिनानाथ बगालेले १२९ किमितर्फ भाग लिइसकेका छन्।
दौड लान्ताउ टापुको मुई वो समुद्री तटबाट शनिबार सुरु हुनेछ।
१०० किमितर्फ बिहान ९ बजे तथा ५० किमितर्फ १० बजे सुरु हुनेछ। १२९ किमितर्फ आजै (शुक्रबार) राति १० बजे दौड भइसकेको छ।
सुनमाया प्रतियोगिताको दाबेदार हुन्। अनिता र दिना अनुभवी हुन् भने पदम र सविनाको पहिलो अन्तर्राष्ट्रिय डेब्यु हो।
गत वर्षबाट दौडिन सुरु गरेका पदम र सविनाले पहिलो पटक अन्तर्राष्ट्रिय कोर्समा दौडिन पाउँदा निकै उत्साहित भएको नेपालखबरलाई बताए।
‘दौडको अनुभव कम भए पनि निकै उत्साहित छौँ, नया ठाउँ र टेक्निकल कोर्स भएकोले टप टेनभित्र छिर्ने योजना गरेका छौँ। यो पटक जित्नेभन्दा पनि अनुभव लिने हो,’ दुवैले एक स्वरमा भने, ‘पेट पाल्नको निम्ति काम पनि गर्नुपर्ने र दौडन पनि पर्ने हुँदा भनेजस्तो ट्रेनिङ गर्न पाएनौँ तर पनि हिम्मत हारेका छैनौँ।’
पदम भने तालिमको सिलसिलामा घुँडामा चोट लागेकोले पूर्ण स्वस्थ नभएको बताइन्।
पदम र सविना दुवै मिरा राई इनिसिएटिब मार्फत तालिम लिएर हङकङ आएका हुन्। मिरा भने दौडकै सिलसिलामा हाल बेलायतमा छिन्।
Shares
प्रतिक्रिया