हङकङस्थित नेपाली महावाणिज्यदूतावासले जन्मदर्ता, विवाह दर्ता, सम्बन्ध विच्छेद जस्ता सर्वसाधारणसँग प्रत्यक्ष सरोकार राख्ने कागजातका विषयमा स्पष्ट पार्ने प्रयास गरेको छ।
शुक्रबार महावाणिज्यदूतावासको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गर्दै दूतावासले उक्त कुराहरू प्रस्ट्याउने कोसिस गरेको हो।
हङकङ महावाणिज्यदूतावासमा जन्मदर्ता, विवाह दर्ता लगायतका कागजात बढी मात्रामा प्रमाणीकरणका लागि आउने गरेको भन्दै दूतावासले कुन कागजात प्रमाणीकरण गराउनुपर्ने हो र कुन–कुन नपर्ने भनेर सेवाग्राहीलाई स्पष्ट पारेको हो।
यसका लागि सर्वप्रथम आफूलाई उक्त कागजात प्रमाणीकरण गराउनुपर्ने हो कि होइन भन्ने निश्चित भएपछि मात्र महावाणिज्यदूतावासको सम्पर्क आउन दूतावासले आग्रह गरेको छ।
कस्ता कागजात प्रमाणीकरण गर्नु पर्छ?
हङकङमा नाबालिग परिचय पत्र बनाएर नेपाल गई राहदानी बनाउन चाहने सेवाग्राही उक्त परिचय पत्र हङकङ महावाणिज्यदूतावासबाट प्रमाणीकरण गराउनुपर्ने/नपर्ने कुरामा दोधारमा पर्ने गरेको भन्दै दूतावासले यसलाई प्रस्ट्याएको छ।
‘नाबालिग परिचय पत्र बनाएर राहदानी बनाउन यात्रा गर्नुभएका व्यक्तिहरू यहाँ यो कागजात प्रमाणित गर्नुपर्छ कि पर्दैन भनेर दोधारमा परेको देख्छु। सर्वप्रथम नेपालको सम्बन्धित वडामा गएर जन्मदर्ता गर्नुपर्दछ। त्यसपछि मात्र नाबालिग परिचय पत्र बनाउन मिल्छ,’ प्रत्यक्ष प्रसारित कार्यक्रममा दूतावासका कर्मचारी भन्छन्, ‘त्यसैले हङकङबाट नेपाल जाने बित्तिकै वडामा गएर यो कागजात महावाणिज्यदूतावासबाट प्रमाणित गरेर ल्याउनुपर्दछ कि पर्दैन भनेर सोध्नुपर्ने हुन्छ।’
हेर्नुस् महावाणिज्यदूतावासद्वारा प्रसारित भिडिओ-
विदेशमा जन्म भएको व्यक्तिको जन्मदर्ता प्रमाणपत्र विदेशस्थित कुटनीतिक नियोगबाट प्रमाणित गरेर ल्याउनुपर्छ भनेर नेपालको कानुनमा स्पष्ट व्यवस्था नभएको दूतावासले बताएको छ।
तर, नेपालमा कतिपय स्थानीय तहले भने यस्तो कागजात अनिवार्य रूपमा प्रमाणीकरण गरेर ल्याउनुपर्ने व्यवस्था राखेको र कतिपय स्थानीय तहले प्रमाणीकरणविनै जन्मदर्ता गराउने गरेको भन्दै कागजात प्रमाणीकरणका लागि दूतावासमा आउनुभन्दा पहिले नेपालको सम्बन्धित वडामा सम्पर्क गरी आवश्यकता हो कि होइन भनेर पहिचान गर्न दूतावासले भनेको छ।
यसैगरी बढी चासोको रूपमा रहेको विवाहदर्ता प्रमाणपत्रका बारेमा पनि दूतावासले प्रस्ट्याउन खोजेको छ।
नेपाली–नेपाली नागरिकबीच भएको विवाहदर्ताका लागि नेपालको सम्बन्धित वडाबाट सहज रूपमा विवाह दर्ता गर्न सकिन्छ।
तर, नेपाली नागरिक र विदेशी नागरिकबीच भएको विवाहको दर्ताका लागि चाहिँ राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन र नियमावली आकर्षित हुने दूतावासका कर्मचाारी बताउँछन्।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली २०७७ र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली २०७७ को नियम १६ को उपनियम ६ मा नेपाली र विदेशी नागरिकबीच विदेशमा विवाह भई सम्बन्धित देशको प्रचलित कानुनबमोजिम जारी भएको विवाह दर्ताको आधारमा नेपालमा विवाह दर्ता कायम गर्न परेको अवस्थामा अनिवार्य रूपमा जुन देशमा विवाह भएको छ र विवाह दर्ता भएको छ, त्यो देशको विवाह दर्ता प्रमाणपत्रलाई उक्त देशमा रहेको नेपाली कुटनीतिक नियोगबाट अनिवार्य रूपमा प्रमाणित गर्नुपर्ने व्यवस्था रहेको दूतावासले जानकारी गराएको छ।
अथवा, उक्त कागजात लैजान असमर्थ भएको अवस्थामा नेपालमा रहेको सम्बन्धित देशको कुटनीतिक नियोग अथवा कन्सुलर सेवाले प्रमाणित गर्नुपर्ने भनेर राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली २०७७ को नियम १६ को उपनियम ६ मा व्यवस्था गरिएको छ।
तसर्थ हङकङमा कुनै नेपाली नागरिकले विदेशीसँग विवाह गरी यहाँको विवाह दर्ता प्रमाणपत्रको आधारमा नेपालमा विवाह दर्ता गराउन चाहेमा उक्त कागजातलाई महावाणिज्यदूतावासबाट प्रमाणीकरण गरेर लैजान दूतावासले आग्रह गरेको छ।
यो कुरा नेपालको कानुनले आवश्यक ठानेकोले दूतावासबाट प्रमाणित गर्नैपर्ने दूतावासले जनाएको हो।
यसैगरी कतिपय यस्ता कागजात सेवाग्राहीले हङकङको उच्च अदालतबाट प्रमाणित गरेर ल्याइसकेको भए महावाणिज्यदूतावासले समेत प्रमाणीकरण गर्ने गरेको दूतावासले जनाएको छ।
किनभने नेपालको कानुनले विदेशस्थित कुटनीतिक नियोगले प्रमाणित गरेको हुनुपर्ने भनेर स्पष्ट व्यवस्था गरेको हुँदा महावाणिज्यदूतावासबाट पनि प्रमाणित गर्नुपरेको दूतावासले स्पष्ट पारेको छ।
यसका अलावा कतिपय नेपालबाट प्रमाणित गरेर ल्याएका कागजात विदेशस्थित निकायले त्यहाँको कुटनीतिक नियोगबाट प्रमाणित गरेर ल्याउनु भनेको हुनसक्छ।
‘उदाहरणका लागि नेपालबाट प्रमाणित गरेर ल्याएको जन्मदर्ता, विवाह दर्ता प्रमाणपत्र हङकङको कुनै सरकारी निकायमा पेस गर्नुपर्दा उक्त निकायले महावाणिज्यदूतावासबाट प्रमाणित गरेर ल्याउनू भनेको हुन सक्छ,’ दूतावासका कर्मचारी भन्छन्, ‘उक्त कागजात सक्कली हो कि होइन भनेर आधिकारिकता जाँच्नका लागि त्यसो गरिएको हो।’
यस्तो अवस्थामा पनि महावाणिज्यदूतावासले ती कागजात प्रमाणित गरिदिने गरेको भन्दै दूतावासले सर्वप्रथम आफूलाई कागजात प्रमाणित गर्नुपर्ने हो कि होइन भनेर सेवाग्राही स्पष्ट हुनुपर्ने बताएको छ।
Shares
प्रतिक्रिया