१० महिनामा ७० हजार प्रतिभा हङकङ आए, प्रमुख कार्यकारी ली भन्छन्- प्रतिभा भित्र्याउने लक्ष्यमा राम्रो उपलब्धि हो

थप कामदार ल्याउन भर्ती नीति बनाइने
१० महिनामा ७० हजार प्रतिभा हङकङ आए, प्रमुख कार्यकारी ली भन्छन्- प्रतिभा भित्र्याउने लक्ष्यमा राम्रो उपलब्धि हो

हङकङ टप ट्यालेन्ट सर्भिसेस एसोसिएसनको कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी जोन ली (द स्ट्याण्डर्ड)


नेपालखबर
कात्तिक २३, २०८० बिहिबार ११:२८, हङकङ

हङकङका प्रमुख कार्यकारी जोन लीले वर्षको पहिलो १० महिनामा हङकङमा ७० हजार प्रतिभा आउन सफल भएको बताएका छन्।

बिहीबार हङकङ टप ट्यालेन्ट सर्भिसेस एसोसिएसनको स्थापना दिवसमा मन्तव्य राख्दै प्रमुख लीले उक्त तथ्यांक सार्वजनिक गरेका हुन्।

वार्षिक रूपमा ३५ हजार प्रतिभालाई एसएआरमा आकर्षित गर्ने लक्ष्यमा भएको यो उपलब्धि दोब्बर भएको पनि लीले मन्तव्यका क्रममा उल्लेख गरेका छन्।

एसएआरले प्रतिभाहरूलाई हङकङमा बसोबास गर्न, जागिर खोज्न वा व्यवसाय सुरु गर्न र खुसीसाथ बाँच्न मद्दत गर्ने लक्ष्य राखेको पनि लीले बताएका छन्।

‘उनीहरूले विवाह गरे, बच्चा जन्माए र घर पनि किने भने अझ राम्रो हुनेछ,’ मन्तव्यका क्रममा लीले भने।

आफ्नो मन्त्रिपरिषद्ले प्रतिभाहरूलाई थप आक्रामक रूपमा आकर्षित गर्न धेरै योजना बढाएपछि यस वर्षको पहिलो १० महिनामा एक लाख ८० हजार बढी आवेदन प्राप्त भएको र एक लाख १० हजारभन्दा बढी आवेदन स्वीकृत पनि भइसकेको लीले बताए।

यो संख्या हङकङमा कामदारहरूलाई आकर्षित गर्ने विश्वव्यापी दौडमा प्रतिस्पर्धात्मक र आकर्षकको संकेत भएको ली बताउँछन्।

सरकारले हङकङ ट्यालेन्ट इन्गेजको लागि गत महिना भौतिक कार्यालय स्थापना गरेको पनि लीले बताएका छन्।

सहरमा प्रतिभाहरूको दीर्घकालीन विकासमा सहयोग गर्ने र हङकङमा थप कामदार ल्याउन विभिन्न समूहहरूलाई लक्षित गरी भर्ती नीति बनाउने लक्ष्य रहेको उनले बताए।

कार्यालयले प्रतिभा र उनीहरूका परिवारलाई सूचित रहन तथा उनीहरूको जीवनलाई सहज बनाउन एवं सामाजिक घुलमिल विस्तार गर्न मदतको लागि समुदायहरूसँग कार्यक्रम आयोजना गर्ने पनि लीले बताए।

कार्यकारी प्रमुख लीले २५ अक्टोबरमा गरेको नीति सम्बोधनमा पनि विभिन्न देशका प्रतिभालाई हङकङ भित्र्याउने उद्देश्यले भिसा नीतिमा खुकुलो पारिने बताइसकेका छन्।

सम्बोधनमा उनले नेपाल, भियतनाम र लाओसबाट आउने प्रतिभाहरूका लागि भिसाको मापदण्डमा छुट दिइने उल्लेख गरेका थिए।

नेपाली ट्यालेन्टहरूका लागि रोजगार भिसा, तालिम भिसा र विद्यार्थी भिसा सहज बनाइएको उनको सम्बोधनमा उल्लेख छ।

लीले आफ्नो नीति सम्बोधनको ५७ नम्बरको तेस्रो बुँदामा भनेका छन्, ‘हामी नेपाल र लाओसका प्रतिभाहरूलाई रोजगारी, तालिम र विश्वविद्यालय अनुदान कोषबाट सञ्चालित संस्थानहरूमा अध्ययनका लागि भिसा नीति खुकुलो बनाउने छौँ।’

यो नयाँ नीतिसँगै नेपाली इन्जिनियर, मेडिकल डक्टर, आइटी क्षेत्रका कामदार लगायतका प्रतिभाहरूले हङकङमा सहजै रोजगार भिसा पाउने भएका हुन्। साथै नेपालीले जुनसुकै क्षेत्रको तालिमका लागि पनि हङकङको भिसा पाउनेछन्।

सन् २००५ मा नेपाली कामदारका लागि भिसा रोकिएपछि हङकङमा रोजगारका लागि नेपालीको प्रवेश बन्द भएको थियो। त्यसअघि हङकङमा खासगरी घरेलु कामदार र रेष्टुरेन्ट क्षेत्रमा नेपालीले रोजगारी पाउँदै आएका थिए।

यद्यपि, २५ अक्टोबरको लीको नीति सम्बोधनले २००५ सम्म पाइने गरेको घरेलु कामदारलगायतको भिसा पनि पाउने हो वा नपाउनेमा भन्नेमा अन्योल सृजना गरेको छ।

लीको नीति सम्बोधनपछि नेपालखबरले हङकङमा लामो समयदेखि सोलिसिटर रहेका एकनारायण शर्मासँग यस सम्बन्धमा जिज्ञासा राखेको थियो।

यसको जवाफमा उनले जोन लीको सम्बोधनबाट नेपाली प्रतिभाहरू– इन्जिनियर, मेडिकल डक्टर, आइटी क्षेत्रका कामदार, विद्यार्थी र बढीमा एक वर्षे तालिमका लागि भिसा खोलिएको तर घरेलु कामदार र अरू कामदारका लागि नखोलिएको बताएका थिए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .