मंगलबार बिहान हङकङको ताइकु सिङस्थित वाइसिङ म्यान्सनमा एउटा कार उत्तानो परेर पल्टिएको छ।
फोनमा घण्टी बजेपछि चालकले मोबाइलतिर ध्यान दिँदा उक्त दुर्घटना भएको हो।
चालकले नियन्त्रणबाट गुमेको कार फुटमाथि चढेर ढुंगामा ठोकिएको थियो। त्यसपछि सडकमा उत्तानो परेर पल्टिएको थियो।
उत्तानो परेर पल्टिएको कारको छत कुच्चिएको छ भने अगाडिको बायाँतर्फको पाङ्ग्रा उछिट्टिएको छ।
कार ५२ वर्षीया महिलाले हाँकेकी थिइन्। दुर्घटनाका कारण कारमा सवार दुई जना र फुटपाथमा हिँडिरहेका दुई जना गरी चार जना घाइते भएका छन्।
कार ढुंगामा ठोकिएपछि उछिट्टिएको ढुंगाले फुटपाथमा हिँडिरहेकी ७९ वर्षीया महिलाको खुट्टामा लागेको थियो। उनको दाहिने खुट्टा भाँचिएको छ।
त्यस्तै ढुंगामा ठोकिएर उडेको कारको भग्नावशेषले फुटपाथमा रहेका ५० वर्षीय पुरुषलाई लागेको थियो। उनको नाक, कुहिना र खुट्टामा चोट लागेको छ।
यसैगरी कारमा सवार चान उपनामकी चालक र उनकी १० वर्षीया छोरी पनि घाइते भएका छन्।
छोरीको दाहिने घुँडामा चोट लागेको छ भने आमा पनि सामान्य घाइते भएकी छन्।
चारै जना घाइतेलाई पूर्वी अस्पताल पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया