हङकङको एक निर्माण क्षेत्रमा ग्यास लिक हुँदा दुई जनाको मृत्यु

तीन महिनाको अवधिमा निर्माण क्षेत्रको दुर्घटनामा १३ जनाले ज्यान गुमाए
हङकङको एक निर्माण क्षेत्रमा ग्यास लिक हुँदा दुई जनाको मृत्यु

तस्बिर : एससीएमपी


नेपालखबर
असोज ७, २०८० आइतबार ११:३६, हङकङ

हङकङको वेस्ट काउलुन कल्चलर डिस्ट्रिक्टमा रहेको एक निर्माण क्षेत्रमा बायोग्यास लिक हुँदा दुई जना कामदारको मृत्यु भएको छ।

याउमा तेइस्थित अस्टिन रोडमा रहेको उक्त निर्माण क्षेत्रको अन्डरग्राउण्डमा काम गरेका उनीहरूको निस्सासिएर मृत्यु भएको आशंका छ। दुर्घटनास्थल वरपर हाइड्रोजन सल्फाइडको दर उच्च रहेको बताइएको छ।

प्रहरीले आइतबार बिहान करिब ७ बजे उनीहरूलाई बेहास अवस्थामा उद्धार गरेको थियो । उद्धारपछि क्वीन एलिजाबेथ अस्पताल पुर्‍याइएको उनीहरूलाई अस्पतालले मृत घोषणा गरेको हो।

आइतबार बिहान अन्य कामदारले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो।

उनीहरू शनिबार उक्त स्थलमा जमिनमुनिको पाइपलाइन मर्मत कार्य गरिरहेका थिए। उनीहरूलाई आइतबार बिहान अग्निनियन्त्रकहरूले ६ मिटरको गहिराइबाट उद्धार गरेका हुन्।

भूमिगत पाइपलाइनको लम्बाइ २०० मिटर रहेको छ। यो पाइपलाइन वेस्ट काउलुन कल्चलर डिस्ट्रिक्टमा वातानूकुलित प्रणाली आपूर्ति गर्ने प्रणालीको एक भाग हो। जसको मर्मत कार्यमा जुटेका कामदारको ग्यास लिकका कारण मृत्यु भयो।

प्रहरीका अनुसार उद्धारकर्मीहरू त्यहाँ पुग्दा अस्टिन रोडको उक्त साइट दुर्गन्धले भरिएको थियो।

पछिल्लो समय हङकङका निर्माण क्षेत्रमा दुर्घटनाको ग्राफ बढ्दै गएको तथ्यांकले देखाएका छन्। अघिल्लो महिना मात्र पनि निर्माण क्षेत्रमा धेरै दुर्घटना भएका थिए। जबकि अगस्टको एक शनिबार मात्र फरक-फरक दुर्घटनामा तीन जना कामदारको मृत्यु भएको थियो।

एक सर्वेक्षणले यस वर्षको पहिलो त्रैमासिकमा मात्र निर्माण क्षेत्रमा १३ जनाको मृत्यु भएको देखाएको छ। यो तथ्यांक गत वर्षको सोही अवधिको भन्दा झण्डै दोब्बर हो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .