हङकङको निर्माण क्षेत्रमा कामदारको मृत्यु प्रकरण : विज्ञ भन्छन्– गम्भीर लापरवाही हो

हङकङको निर्माण क्षेत्रमा कामदारको मृत्यु प्रकरण : विज्ञ भन्छन्– गम्भीर लापरवाही हो

याउमा तेइस्थित जमिनमुनिको पाइपलाइन मर्मत गर्ने क्रममा निसास्सिएर दुई जना कामदारको मृत्यु भएको छ। तस्बिर : द स्टयाण्डर्ड


नेपालखबर
असोज ७, २०८० आइतबार १६:४१, हङकङ

आइतबार बिहान वेस्ट काउलुन कल्चलर डिस्ट्रिक्ट, याउमा तेइस्थित एक निर्माण क्षेत्रमा बायोग्यासको भूमिगत पाइप मर्मत गर्न गएका दुई मजदुर बेहोस अवस्थामा भेटिए। पछि उनीहरूलाई अस्पतालले मृत घोषित गर्‍यो। योसँगै अति संवेदनशील क्षेत्रमा काम गर्दा अपनाउनुपर्ने सुरक्षा सतकर्ताको विषयलाई लिएर यतिखेर हङकङमा चासो उत्पन्न भएको छ।

मृतकका परिवारले यसअघि नै सुरक्षा संवेदनशीलता नअपनाइँदा आफ्नो परिवारका सदस्यको ज्यान गएको भन्दै आपत्ति जनाइसकेका छन्।

दुर्घटनामा परेका ६१ वर्षीय क्वोक फो–केइकी श्रीमतीले बिहानै निर्माण क्षेत्रका पर्यवेक्षकलाई सम्पर्क गरेर सुरक्षाकर्मीको उचित निरीक्षणविना भूमिगत पाइपलाइन भित्र काम गर्न किन खटाइयो भनी आपत्ति जनाएकी थिइन्। त्यस्तै, कामदार भित्रिने र बाहिरिने सामान्य अभिलेख पनि किन राखिएन भन्दै उनले आश्चर्य प्रकट गरेकी थिइन् ।

उनले रातिदेखि श्रीमान्‌लाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेको र १० घण्टाभन्दा बढी समयसम्म कसैले पनि जवाफ दिन नसकेको सन्दर्भमा आक्रोश पोखिन्। उनले श्रीमान् घर फर्कने आसमा गेटतर्फ ध्यान दिएर रात बिताएको बताइन्।

त्यस्तै दुर्घटनामा परेका ६३ वर्षीय अर्का कामदार लाउ हो–चेउङका छोराले दुई जना कामदारलाई मात्र निर्माणस्थल किन छोडियो भनी प्रश्न गरेका छन्। अघिल्लो दिन आफूले बुबाले ओभरटाइम गर्नुभएको होला भनी अनुमान गरेको तर बिहान टेक्स्ट म्यासेज पठाउँदा कुनै प्रतिक्रिया नआएपछि डर लागेको बताए। यसबारे पर्यवेक्षकसमेत अनभिज्ञ देखिनु आश्चर्यको विषय भएको उनी बताउँछन्। घटनाको सत्यतथ्य जाँच हुनुपर्ने उनको माग छ।

यो दुर्घटनालाई लिएर विज्ञहरूले गम्भीर लापरवाही भएको प्रतिक्रिया दिएका छन्।

भूमिगत उपयोगिता व्यवस्थापन क्षेत्रका एक विज्ञले यसलाई सुरक्षा प्रक्रियाको लापरवाही भनेका छन्।

त्यस्तै, हङकङ इन्स्टिच्युट अफ युटिलिटी स्पेसलिस्टका पूर्व अध्यक्ष वोङ किङले आगो, ताप, ग्यास, पानी, दलदले जस्ता संवेदनशील क्षेत्रमा काम गर्नुअघि जोखिम मूल्यांकन गर्नुपर्ने बताए।

‘यस्तो क्षेत्रमा काम गर्ने अनुमति दिनुअघि काम गर्ने समय लगायतको विषयमा मालिक वा ठेकेदारले हस्ताक्षर गरी अनुमति दिनु आवश्यक हुन्छ। तर, यहाँ त दुर्घटना पनि एक दिनपछि मात्र प्रकट हुनु सुरक्षा प्रक्रियाको गम्भीर लापरवाही हो,’ वोङ भन्छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .