एक सातामा पनि भेटिएनन् हाइकिङ गएका हङकङका व्यक्ति, खोजी गरिँदै

एक सातामा पनि भेटिएनन् हाइकिङ गएका हङकङका व्यक्ति, खोजी गरिँदै

खोजीकार्यमा खटिएका उद्धारकर्ताहरू। तस्बिर : ह्यान्डआउट/एससीएमपी


नेपालखबर
भदौ १२, २०८० मंगलबार १३:२०, हङकङ

हङकङलाई संसारकै व्यस्तमध्येको सहर मानिन्छ। व्यस्त सहरमा मानिसहरू पनि त्यत्तिकै व्यस्त हुने भइहाले।

यस्तै व्यस्तताबीच फुर्सद हुनेबित्तिकै हाइकिङतर्फ लाग्ने हङकङबासीको संख्या पनि दिनानुदिन बढ्दै गएको छ।

हाइकिङ जानु स्वस्थ जीवनशैलीका लागि जति लाभदायक छ, ख्याल पुर्‍याउन सकिएन भने यसले त्यति नै हानि पनि पुर्‍याउन सक्छ।

हानि यस मानेमा कि सबैलाई हाइकिङको रुटबारे जानकारी नहुन सक्छ यसले गर्दा दुर्घटना भोग्न सकिन्छ।

हाइकिङका जानकारहरू मानिसहरूलाई एक्लाएक्लै पैदलयात्रामा ननिस्कन सुझाव नै दिने गर्दछन्।

यसैले त कतिपय हाइकिङसम्बन्धी संस्था पनि छन् हङकङमा। जसले मानिसहरूलाई सुरक्षित पैदलयात्रा लगायतका सेवा प्रदान गर्दछन्।

पछिल्लो समय यस्तै दुर्घटना हङकङका एक चिनियाँ पैदलयात्रीले भोगेका छन्। उनी बाटो पहिल्याउन नसक्दा माअन शान कन्ट्री पार्कमा हप्ता दिनदेखि हराइरहेका छन्।

गत बुधबार पैदलयात्रामा निस्केका ५७ वर्षीय निङ क्वक–लेङलाई बिहीबारदेखि खोजीकर्ताले खोजिरहेका छन्, तर फेला पार्न सकेका छैनन्। उनी अन्तिम पटक शनिबार बिहान परिवारको सम्पर्कमा आएका थिए।

अन्तिम पटक परिवारसँग कुरा हुँदा उनले आफ्नो शारीरिक अवस्था कमजोर हुँदै गएको, उभिनै नसक्ने स्थितिमा पुगेको तथा डिहाइड्रेसनबाट ग्रस्त भएको बताएका थिए।

उनले आफ्नो फोनको ब्याट्री सकिन थालेको र बाहिर निस्कन सही मार्ग पत्ता लगाउन नसकिरहेको बताएका थिए।

उद्धारकर्ताको टोलीले खोजी जारी राखेको छ।

पैदलयात्री हराएको सूचना पाएसँगै सिभिल एड सर्भिस (क्यास), फायर सर्भिस र प्रहरीले बिहीबारदेखि माअन शान कन्ट्री पार्कको वेस्ट बफेलो हिल वरपरबाट खोजी कार्य सुरु गरेका थिए।

खोजी कार्यमा कन्ट्रीसाइड भोलिन्टियर सर्च टीम (सीभीएसटी) र अर्को भोलिन्टियर समूह हङकङ गार्जियनले पनि सघाइरहेको छ।

यद्यपि हप्तादिन बित्न लाग्दासम्म उनी फेला परेका छैनन्। बरु, खोजीकर्ताहरूले सोमबार दिउँसो कन्ट्री पार्कको वङचुक शान क्षेत्रको गहिरो झाडीमा एउटा पञ्जा फेला पारेका छन्, जुन बेपत्ता पैदलयात्रीको हुनसक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .