हङकङमा अर्को हप्ता पनि टाइफुन आउने सम्भावना

हङकङमा अर्को हप्ता पनि टाइफुन आउने सम्भावना

तस्बिरहरू : एससीएमपी


नेपालखबर
साउन २, २०८० मंगलबार १२:३५, हङकङ

हङकङमा अर्को हप्ता पनि टाइफुन (समुन्द्री आँधी) आउने सम्भावना रहेको अधिकारीहरूले बताएका छन्।

हङकङ अब्जर्भेटरीले मंगलबार सूचना जारी गर्दै अर्को हप्ताको सुरुआतीमा टाइफुन आउने सम्भावना रहेको बताएको हो।

यसअघि हिजो सोमबार आएको वर्षकै पहिलो टाइफुनले हङकङको जनजीवन प्रभावित पारेको थियो।

सोमबार बिहान १२:४० मा जारी गरिएको T8 सिग्नल झण्डै १६ घण्टासम्म कायम थियो। साँझ ४:२० मा ३ नम्बरमा झरेको थियो भने मंगलबार बिहान २:४० मा मात्र १ मा झरेको थियो।

सोमबारको टाइफुनका कारण हङकङका अधिकांश क्षेत्र ठप्प जस्तै थिए। धेरै हवाइ उडान रद्द भए भने कतिपय ‘डिले’ भएका थिए। त्यस्तै, बस, रेललगायतका यातायात सेवा पनि प्रभावित बनेका थिए।

तीव्र हावा र भारी वर्षाका कारण पठनपाठन प्रभावित भए भने धेरै कामदारहरू आफ्नो नियमित काममा जान सकेनन्। हङकङमा रहेका डम्बरकृष्ण श्रेष्ठ आफू पनि सोमबारको टाइफुनका कारण प्रभावित बनेको बताउँछन्। श्रेष्ठ भन्छन्, ‘समुन्द्री आँधीका कारण काममा जान सकिएन। टाइफुन घटेपछि भने साँझ केहीबेर सामान्य घुमघाम भयो।’

हङकङ एक्सचेन्ज एण्ड क्लियरिङका अनुसार आँधीले सेयर बजार पनि केही घण्टाका लागि रोकिएको थियो।

सोमबारको टाइफुनका कारण नौ जना घाइते भए। घाइते हुनेमा ६ पुरुष र तीन महिला छन्। त्यस्तै ५५ रुख ढलेको र दुई ठाउँमा बाढी आएको अधिकारीहरूले बताए।

त्यस्तै, गृह मामिला विभागले बताए अनुसार ११२ जनाले आँधीबाट बच्न आश्रय लिएका थिए। उनीहरूलाई विभिन्न जिल्लामा खोलिएका २९ आश्रय स्थलमा शरण दिइएको थियो।

हङकङ अब्जर्भेटरीका अनुसार मंगलबार र बुधबार सहरका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ भने अर्को हप्ता आँधीबेहरी (टाइफुन) आउनुअघि सहरको मौसम सफा रहनेछ।

 

 

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .