हङकङका ८ निर्वासित एक्टिभिस्ट पक्राउन सूचना दिनेलाई प्रतिव्यक्ति १० लाख डलर नगद पुरस्कार घोषणा

हङकङका ८ निर्वासित एक्टिभिस्ट पक्राउन सूचना दिनेलाई प्रतिव्यक्ति १० लाख डलर नगद पुरस्कार घोषणा

नेपालखबर
असार १९, २०८० मंगलबार १५:३५, हङकङ

हङकङबाट भागेका ८ जना सरकारविरोधी एक्टिभिस्टलाई पक्रिन आवश्यक सूचना दिनेलाई प्रतिव्यक्ति १० लाख हङकङ पुरस्कार दिइने घोषणा प्रहरीले गरेको छ।

ती एक्टिभिस्टहरु हाल अमेरिका, अस्ट्रेलिया र बेलायतमा बसिरहेका छन्। उनीहरुमाथि हङकङको राष्ट्रिय सुरक्षा कानुन उल्लंघन गरेको आरोप छ।

उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गर्दै प्रहरीले नगद पुरस्कारको घोषणा गरेको हो। त्यसरी पक्राउ पुर्जी जारी गरिएकाहरुमा सात पुरुष र एक महिला छन्। जसको उमेर २६ देखि ७४ वर्षसम्म छ। 

वारेन्ट जारी गरिएकामा एक्टिभिस्टहरु केभिन याम, नेथन ल, एलमर युआन, मुङ स्यु टाट, फिन लाउ र अन्ना कोक छन्। त्यस्तै, पूर्व सांसदहरु टेड हुई र डेनिस कोक छन्। 

हङकङमा २०१९ मा भएको हिंसक प्रदर्शन र अर्को वर्ष सरकारले राष्ट्रिय सुरक्षा कानुन ल्याएपछि उनीहरुले सहर छाडेका थिए। 

हङकङ सरकारले यस्तो कदम चालेपछि पश्चिमा मुलुकहरुले त्यसको चर्को आलोचना गरेका छन्। कतिपयले एक्टिभिस्टहरुको ‘टाउकोको मूल्य’ तोकिएको भन्दै विरोध गरेका छन्। 

तर, हङकङका कार्यकारी प्रमुख जोन लीले उनीहरुविरुद्धको पक्राउ पुर्जी र नगद पुरस्कार घोषणा विश्वभर बलियो सन्देश दिने बताएका छन्। 

‘यसले राष्ट्रिय सुरक्षा कानुन तोड्ने जोसुकैलाई जीवनभर खेदिनेछ भन्ने बलियो सन्देश दिएको छ,’ लीले भने। 

विदेशी मुलुकहरुको प्रतिक्रियाबाट हङकङ सरकारको कामकारबाही नरोकिने उनको भनाइ थियो।

हङकङस्थित चीनको विदेश मामिला कार्यालयले ‘अपराधीहरुलाई बढावा दिने र गोटी चाल्ने काम नगर्न विदेशी शक्तिहरुलाई’ चेतावनी समेत दिएको छ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .