एनआरएनए हङकङले भारतको कदमको विरोध गर्दै कुरियरमार्फत् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै हङकङस्थित भारतीय महावाणिज्य दूतावासमा ज्ञापनपत्र पठाएको छ।
नेपाल–भारत सीमा विवादलाई लिएर एनआरएनए हङकङले नोभेम्बर २१ मै आफ्ना प्रतिनिधि पठाएर ज्ञापनपत्र दिने प्रयास गरेको थियो।
तर त्यहाँका कर्मचारीले औपचारिकता सहित ज्ञापन पत्र बुझाउन आग्रह गरेपछि २५ नोभेम्बरमा इमेलमार्फत् ज्ञापनपत्र पठाइएको थियो।
तर त्यसको उत्तर नआएपछि आफूहरुले कुरियरमार्पmत बुधबार भारतीय महावाणिज्य दूतावासलाई ज्ञापनपत्र पठाएको एनआरएनए हङकङकी अध्यक्ष राधिका गुरुङले नेपालखबरलाई बताइन्।
सुरुवातमा संघले विरोध जुलुससहित ज्ञापनपत्र बुझाउने योजना बनाएको थियो।
हङकङको कानुन अनुसार त्यस्ता जुलुस गर्दा प्रहरीलाई निवेदन दिई अनुमति लिनु पर्ने प्रावधान भएपछि एनआरएनए हङकङका प्रतिनिधि सोही अनुसार अनुमतिको लागि निवेदन दिन १९ नोभेम्बरमा प्रहरी कार्यालय पुगेका थिए।
तर हङकङमा जारी सरकारविरोधी आन्दोलनका कारण जनशक्ति कम भएको कारण देखाई प्रहरीले निवेदन लिन असहमति जनाएको थियो।
त्यसपछि मात्र एनआरएनए हङकङले नेपाल–भारत सीमा विवादको ज्ञापनपत्र आन्दोलन बिना बुझाउने निर्णय गरेको थियो।
गत अक्टोबरमा भारतले नेपाल अधिनस्त कालापानी, लिपुलेक र लिम्पियाधुरालाई अतिक्रमण गरी आफ्नो सीमा चित्रमा गाभेपछि विवाद उत्पन्न भएको थियो।
त्यही उत्पन्न विवादमा नेपाल सरकार र नेपालीसँग एेक्यवद्धता जनाउने क्रममा बिभिन्न राष्ट्रमा रहेका एनआरएनएले त्यहाँका भारतीय दूतावास र महावाणिज्यदूत मार्फत भारतीय कार्यको विरोध जनाइरहेका छन्।
Shares
प्रतिक्रिया