हङकङ प्रहरीले शुक्रबार करिब २५ लाख हङकङ डलरको लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ।
प्रहरीले दिएको जानकारीअनुसार लागूऔषध ओसारपसार गरेको आरोपमा ट्याक्सी चालक र उक्त ट्याक्सीका यात्रु पक्राउ परेका हुन्।
प्रहरीले ट्याक्सीमा राखी लैजाँदै गरिएको अवस्थामा करिब २५ लाख हङकङ डलरबराबरको क्रिस्टल मेथाम्फेटामाइन फेला पारेको हो।
शुक्रबार साइ यी स्ट्रिटमा नियमित चेकजाँचको क्रममा उक्त ट्याक्सीबाट लागूऔषध बरामद गरिएको हो। साउथ चाइना मर्निङ पोस्टका अनुसार उक्त ट्याक्सीमा ४.३ किलो क्रिस्टल मेथाम्फेटामाइन फेला परेको हो। लागूऔषध औसारपसारको आरोपमा पक्राउ पर्नेमा ५५ वर्षीय ट्याक्सी चालक र २२ वर्षीय युवा रहेका छन्।
पछिल्लो समय प्रहरीले लागूऔषधविरुद्धको अभियात तीव्र पारेको छ। हङकङमा लागूऔषध ओसारपसारको मुद्दामा आजीवन जेल सजाय र ५० लाख एचके डलरसम्मको जरिवाना हुन सक्ने व्यवस्था छ।
गत जनवरीदेखि सेप्टेम्बरसम्मको अवधिमा हङकङ प्रहरीले १ हजार १८९ किलो क्रिस्टल मेथाम्फेटामाइन बरामद गरेको छ। गत वर्षको सोही अवधिमा १ हजार ३९२ किलो क्रिस्टल मेथाम्फेटामाइन बरामद भएको थियो।
Shares
प्रतिक्रिया